
झापा, ७ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदलीकै अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदलीकै अवस्था रहने छ। राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।
त्यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।


