
झापा, ८ बैशाख । झापाको कचनकवल गाउँपालिकामा शुक्रबार राति मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ ।
उक्त दुर्घटनामा कचनकवल–४ का ४१ वर्षीय कृष्णप्रसाद साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
शुक्रबार राति कचनकवल–६ स्थित पेट्रोल पम्प नजिक बनियानी–केचना सडक खण्डमा केचनाबाट बनियानीतर्फ जाँदै गरेको मे ८ प ८१७ नं को मोटरसाइकल र बनियानीबाट केचनातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा घाइते भएका भारतीय नम्बरको मोटरसाइकल चालक कचनकवल–४ का साहको उपचारको क्रममा भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पतालमा मृत्यु भएको हो । सोही मोटरसाइकलको पछाडि सवार कचनकवल–४ का १४ वर्षीय सन्दिप माझी गम्भीर घाइते भई अचेत अवस्थामा रहेको प्रनाउ चन्दले बताउनुभयो ।
त्यस्तै, मे ८ प ८१७ नम्बरको मोटरसाइकलमा सवार कचनकवल–६ का २१ वर्षीय गोपाल राजवंशी र कचनकवल–७ का २५ वर्षीय रामबहादुर राजवंशी घाइेत भएका छन् । घाइते उनीहरुको भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल उपचार भइरहेको छ ।


