
झापा, ९ बैशाख । झापाका विभिन्न स्थानका सहकारी संस्थामा चोरी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।
जिल्लाका विभिन्न स्थानका १३ वटा सहकारीमा भएको चोरीमा संलग्न भएको आरोपमा छ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । १३ वटा सहकारी संस्थाबाट रू ३० लाख १६ हजार छ सय ८७ चोरी भएको भनि सम्बन्धित सहकारीहरुले उजुरी दिएका थिए ।
पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ फालेखका ३० वर्षीय सोमलाल स्याङ्तान, २१ वर्षीय सन्तबहादुर स्याङ्तान, २२ वर्षीय सुनिल स्याङ्तान, २५ वर्षीय बुद्ध स्याङ्तान, २६ वर्षीय सुजन स्याङ्तान र मकवानपुर गढी गाउँपालिका–८ का २८ वर्षीय अजय राना मगर रहेका छन् । प्रहरीले उनीहरुसँगै दुई वटा मोटरसाइकल, मार्तोल, स्क्रुब ड्राइबर, पिलास, मोबाइल सात थान, ब्याग लगायतका सामग्री बरामद गरेको छ ।
सहकारीमा भएको चोरीको उजुरीका आधारमा अनुन्धान गर्दै जाँदा बैशाख ७ गते जिल्ला प्रहरी कार्यालय झापबाट खटिएको प्रहरी टोलीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको समन्वय र जिल्ला प्रहरी कार्यालय सुनसरीको सहकार्यमा इटहरीबाट दशीका सामानसहित उनीहरुलाई पक्राउ गरेको प्रवक्ता चन्दले बताउनुभयो । अभियुक्तहरुलाई जिल्ला अदालत झापाबाट चोरी कसुरमा आज पाँच म्याद थप गरी अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।



