
काठमाण्डौ, १५ जेठ । सरकारले आउँदो आर्थिक वर्ष ९ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थप गर्ने लक्ष्य लिएको छ । आउँदो आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्ष ९ सय मेगावाट बिजुली थप गरी कुल क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने लक्ष्य लिएको जानकारी गराउनुभएको छ ।
यस्तै सरकारले आउँदो आर्थिक वर्षभित्र बङ्ग्लादेशमा बिजुली निर्यात गर्ने लक्ष्य लिएको छ । यसैगरी हिउँदयाममा हुने बिजुली अभाव पूर्तिका लागि बूढीगण्डकी, दूधकोशी, नलगाडलगायत जलाशययुक्त आयोजनाको काम शुरु गर्ने अर्थमन्त्री पुनले घोषणा गर्नुभएको छ । सरकारले आउँदो आथिक वर्ष ऊर्जा क्षेत्र विकासका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
त्यस्तै, अर्को वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य, पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोड बजेट
सरकारले आउँदो आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।
आउँदो आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आउँदो आर्थिक वर्ष नयाँ गन्तव्यको पहिचान र विकाससमेत गरी १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको जानकारी गराउनुभएको हो । अघिल्लो आर्थिक वर्ष १० लाख पर्यटक नेपाल आएका थिए ।
सरकारले पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रणालीमा विकास गर्ने बताएको छ । सातै प्रदेश समेटिने गरी पर्यापर्यटन विकास गर्ने सरकारले जनाएको छ । यस्तै सरकारले पुराना पदमार्गको संरक्षण गर्ने बताएको छ ।
सरकारले आउँदो आर्थिक वर्ष पर्यटन विकासको लागि ११ अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



