
झापा, १९ बैशाख । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२–८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१.५८ प्रतिशतले बढेको छ ।
कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा १० अर्ब ७० करोड सात लाख १८ हजार बराबरको अलैँची निर्यात भएको हो । चालु आवको नौ महिनामा पाँच हजार २९५.२५० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । अघिल्लो आव २०८१–८२ को सोही अवधिमा रु छ अर्ब २५ करोड १२ लाख ६१ हजार बराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको नौ महिनामा चियाको निर्यात २६.७३ प्रतिशतले घटेको छ । उक्त अवधिमा रु दुई अर्ब ५८ करोड १९ लाख ८५ हजार मूल्य बराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१–८२ को सोही अवधिमा रु तीन अर्ब २७ करोड २० लाख ७२ हजार बराबरको चिया निर्यात भएको थियो ।
कार्यालयका अनुसार निर्यात हुने मुख्य वस्तुमध्ये भेनियर सिट ३०.८८ प्रतिशत, छुर्पी ३०.३५ प्रतिशत वृद्धि भएको छ भने प्लाइउड ३७.७३ प्रतिशत, अम्रिसो ३७.३३ प्रतिशत, फलामे पाता एक हजार ७४७.८१ प्रतिशत र मोलासिस ३६१.३५ प्रतिशत र सिमेन्ट क्लिङ्करको निर्यात शतप्रतिशतले घटेको छ । मेची भन्सारबाट चालु आव २०८२–८३ को चैत मसान्तसम्ममा रु १९ अर्ब ४३ करोड ३५ लाख ३२ हजार बराबरको माल वस्तु निर्यात भएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



