
झापा, २० साउन । झापाको बिर्तामोडस्थित प्रभु बैंकको शाखा कार्यालयले ग्राहकको निक्षेप फिर्ता नगरेको भन्ने विषयमा बैंकले कागजात नक्कली भएको ठहर गरेको छ ।
सो विषयमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति ध्यानाकर्ष भएको जनाउँदै प्रारम्भिक अनुसन्धानका क्रममा मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवम् नक्कली रहेको व्यहोरा प्रारम्भिक रुपमा देखिन बैंकले जनाएको छ ।

बैंकका कोशी प्रदेश प्रमुख बद्रीकुमार कटवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘प्रभु बैंक लि.को झापा जिल्लास्थित बिर्तामोड शाखा कार्यालयका निक्षेप ग्राहकले बैंकमा राखेको मुद्दती निक्षेप सम्बन्धित खातामा नभएको भन्ने सम्बन्धमा विभिन्न समाचार माध्यमहरुमा प्रसारित समाचारका सम्बन्धमा बैंकको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त शाखा कार्यालयका निक्षेपकर्ता मञ्जुकुमारी नेपालले मुद्दती रसिदको रकम फिर्ता पाउँ भनी पेश गरेको निवेदन बमोजिमको रकम सम्बन्धित खातामा नरहेको जानकारी प्राप्त हुनासाथ आन्तरिक छानविन गर्दा उक्त मुद्दती रसिद, ब्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको व्यहोरा प्रारम्भिक रुपमा देखिन आएकोले सो सम्बन्धमा थप छानविन भइरहेको र कानून बमोजिम अनुसन्धान गरी दोषी उपर कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको छ ।
दुर्गापुर शाखा उद्घाटनका क्रमममा झापा अउनुभएका बैंकका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलासँग झापा अनलाइनले घटनाका सन्दर्भमा जिज्ञासा राख्दा समाचार आएपछि घटनाको विषयमा थाहा भएको बताउनुभएको थियो । उहाँले भन्नुभएको थियो, “बैंकमा आर्थिक अपचलनका घटना भइरहन्छ, पहिला जस्तो अहिले छैन, घटनाको वास्तविकता अनुसार कामकारबाही हुन्छ ।”
आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ– देशैभर २८३ एटिएम र ३१४ शाखा कार्यालयहरु समेतको सञ्जाल मार्पm्त अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको प्रभु बैंक लि. आप्mना निक्षेपकर्ता, ग्राहक तथा सेवाग्राहीहरुको हित एवं गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाहको लागि कटिबद्ध रहेको छ । आवश्यक छानविन तथा प्रचलित कानुन बमोजिमको कारवाही पश्चात् उक्त घटनाको सत्य, तथ्य र वास्तविकता पत्ता लागी दोषी उपर ठहरे बमोजिमको कारवाही हुने नै छ भन्नेमा बैंक विश्वस्त रहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



