
झापा, २२ साउन । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिराहा करजन्हा नगरपालिका–६ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ३२ वर्षीय गुनेशकुमार ठाकुर रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “काठमाडौँको बसुन्धारास्थित ओम इन्टरनेशनल प्रालिबाट बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा दुबई, कतार, साउदी अरब, मलेसिया र कुवेतलगायत देशमा पठाउने भनी रवीन्द्र सापकोटासँगको साझेदारीमा निजले रु एक करोड ९७ लाख १७ हजार लिई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”
पक्राउ परेका ठाकुरबाट ८५ जना पीडित भएको सूचना अधिकारी आचार्यले बताउनुभयो । निजलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



