
अर्जुनधारा, २४ साउन । झापाको अर्जुनधारा नगरपालिकामा नदीजन्य पदार्थको उत्खनन्का लागि सार्वजनिक सुनुवाई गरिएको छ ।
अर्जुनधारा–३ स्थित वडा कार्यालयमा आज आर्थिक वर्ष २०८१÷०८२ का लागि बिरिङ, टाङटिङ र सोमा मिसिने खोलाहरुबाट नदीजन्य सामग्री व्यवस्थापन सम्बन्धी सार्वजनिक सुनुवाई गरिएको हो ।
कार्यक्रममा टाङटिङ खोलको छ स्थान र सुखानी खोलाको दुई स्थान गरी आठ स्थानबाट करिब एक लाख ३० हजार ९५० घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न सकिने परामर्श दाता कम्पनी भोलानाथ इन्जिनियरिङ डिजाइनर्स कन्सल्टेन्सी बिर्तामोडले जनाएको छ ।
टाङटिङ खोलाको छ स्थानबाट एक लाख ११ हजार २०० घनमिटर खोलाजन्य पदार्थ निकाल्न सकिने परामर्शदाता भोलानाथले जनाइएको छ । जसको न्यूनतम् मूल्य दुई करोड ७४ लाख ७४ हजार ४८३ रुपैयाँ ४६ पैसा रहेको छ ।

यस्तै, सुखानी खोलाको दुई स्थानबाट १९ हजार ७५० घनमिटर नदीजन्य पदार्थ निकाल्न सकिने छ भने उक्त नदीजन्य पदार्थको न्यूनतम् मूल्य ४४ लाख ८१ हजार २१४ रुपैयाँ ७२ पैसा रहेको जनाइएको छ ।
सार्वजनिक सुनुवाईमा स्थानीयबासीको जिज्ञासाको जवाफ दिनुहुँदै नगरप्रमुख बलदेवसिंह गोम्देनले ठेकेदारले मापदण्डभन्दा बढी उत्खनन् गरे पाँच गुणाभन्दा बढी जरिवाना गरिने शर्त राखिएको बताउनुभयो ।
“खोलाबाट उठेको राजश्व खोलामै खर्चिने योजना छ”, उहाँले भन्नुभयो, “कप्पर ड्याम निर्माणलाई यस पटक पनि प्राथमिकतामा राखिएको छ ।” गत वर्ष खोला ठेक्का लगाउन ढिलाइ हुँदा अवैध रुपमा उत्खनन् गरिएको पाइएकाले यस पटक बेलैमा खोला ठेक्का लगाइने उहाँले बताउनुभयो । खोलामै अवैध रुपमा कोही कसैले उत्खनन् गरे कडा कारबाही गरिने नगरप्रमुखले बताउनुभयो ।
अर्जुनधारा–३ का वडाध्यक्ष सीताराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा–२ का वडाध्यक्ष नरेन्द्र श्रेष्ठ, नगरपालिकाका योजना अधिकृत हेमराज सेढाईं, जनप्रतिनिधि, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



