
झापा, ५ भदौ । देशका २८ स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन्। भदौको पहिलो हप्तासम्म पनि बजेट ल्याउन नसक्ने स्थानीय तहमध्ये २० गाउँपालिका र ८ नगरपालिका छन्।
नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम स्थानीय सरकारहरूले हरेक वर्षको असार १० गतेसम्म आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नगर/गाउँसभामा पेस गरिसक्नुपर्ने व्यवस्था छ। पालिकाहरूले असार मसान्तसम्म बजेट पारित गरिसक्नुपर्छ।
बजेट ल्याउन नसक्ने १४ वटा गाउँपालिका मधेस प्रदेशका छन् । बजेट पास गर्न नसकेका ८ नगरपालिकामध्ये ६ वटा मधेस प्रदेशकै छन् । बागमती प्रदेशका दुई नगरपालिका ललितपुरको गोदावरी र चितवनको राप्तीले बजेट ल्याउन सकेका छैनन्।
गाउँपालिका राष्ट्रिय महासंघका अनुसार मधेस प्रदेशका १४, सुदूरपश्चिमका दुई, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका एक÷एक गाउँपालिकाले हालसम्म बजेट पास गर्न सकेका छैनन्। बजेट आउन नसकेका स्थानीय तहमा जनप्रतिनिधिबीचको विभिन्न राजनीतिक विवाद तथा बजेट फाँडफाँट लगायतका विषयमा कुरा मिल्न नसक्दा समस्या देखिएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



