
बाथ रोग धेरै प्रकारका हुने भएकोले यसका लक्षण भिन्नाभिन्नै हुन्छन्। बाथको प्रकार अनुसार यसले विभिन्न अंगहरु समात्छ । बाथ रोगको साझा लक्षण जोर्नी दुखाइ हो। हात–गोडाका साना–तिना जोर्नीहरु दुख्ने, सुतेर उठ्दा मुठ्ठी कस्न ग्राहो भएजस्तो हुने, सुन्निने जस्ता समस्या बाथ रोगका प्रारम्भिक लक्षणमा पर्छन्। यदि छालामा बाथ रोग भएको अवस्थामा अनुहार तथा छालामा डाबर आउने, घामको एलर्जी हुने, मुख तथा गोडामा बारम्बार घाउ आउने जस्ता लक्षण देखिन्छन्।
आँखा रातो हुने तथा बारम्बार दुख्ने, सुख्खा हुने तथा आँसु नआउने समस्या हुने जस्ता लक्षण देखिएमा पनि बाथ रोग भएको शंका गर्न सकिन्छ। यदि बाथले भित्री अंगलाई आक्रमण गरेको अवस्थामा भिन्नै प्रकारको लक्षण देखा पर्न सक्छ। फोक्सोमा जाली परेको अवस्थामा स्वाँ–स्वाँ बढ्ने, खोकी लाग्ने, दम बढ्ने, मुटुमा पानी जमेमा मुटुको ढुकढुकी बढ्ने, रक्तचाप बढ्ने, मिर्गौलाबाट प्रोटिन जान थालेको अवस्थामा मिर्गौलामा समस्या आउने, गोडाहरु सुन्निने हुन सक्छ।



