झापा, १२ मंसिर । झापामा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुने नागरिकको सङ्ख्या आठ लाख ५७ हजार १९९ पुगेको छ। स्वास्थ्य बिमा बोर्डका अनुसार यो जिल्लाको कुल जनसङ्ख्याको ८६ प्रतिशत हो।
स्वास्थ्य सेवामा सबै नागरिकको सहज र न्यायपूर्ण पहुँच सुनिश्चित गर्ने उद्देश्यले सरकारले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रमअन्तर्गत पाँच जनासम्म सदस्य रहेको परिवारले वार्षिक तीन हजार ५०० रुपैयाँ योगदान गर्दा एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउने व्यवस्था छ।

स्वास्थ्य बिमा बोर्डकी जिल्ला प्रमुख लक्ष्मी कँडेलका अनुसार हालसम्म झापाका दुई लाख १७ हजार ५२७ परिवार बिमाको दायरामा समेटिएका छन्। बिमामा ५३ हजार १४२ ज्येष्ठ नागरिक, १२८ कुष्ठरोग प्रभावित, ७४४ एचआइभी सङ्क्रमित, तीन हजार १९१ अपाङ्गता भएका व्यक्ति र ५९० महिला स्वास्थ्य स्वयंसेविका पनि आबद्ध छन्।
बिमामार्फत सेवा प्रवाह गर्न जिल्लाका पाँच आँखा अस्पताल, सात रेफरल अस्पताल र १५ प्राथमिक सेवा प्रदायक संस्थासहित २७ वटा स्वास्थ्य संस्था सूचीकृत छन्।
झापाका १५ स्थानीय तहमध्ये दमकमा कुल जनसङ्ख्याको ११४ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आबद्ध देखिएका छन्। दमकमा बसोबास गर्ने भुटानी शरणार्थीसमेत बिमामा समेटिएकाले आबद्धता दर बढी देखिएको बोर्डले जनाएको छ।
त्यस्तै, भद्रपुर, गौरादह, हल्दिबारी, कमल र कनकाईमा बिमा आबद्धता दर ९० प्रतिशतभन्दा माथि छ। सबैभन्दा कम झापा गाउँपालिकामा ४८ प्रतिशत नागरिक मात्र बिमामा आबद्ध छन्।
पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले प्रत्येक अतिरिक्त सदस्यका लागि ७०० रुपैयाँ थप योगदान गर्नुपर्ने व्यवस्था छ। यसरी सदस्य थपिएका परिवारले अधिकतम दुई लाख रुपैयाँसम्मको उपचार सुविधा पाउनेछन्।
यसैबीच, स्वास्थ्य बिमा सेवाको उपयोग र दाबीमा देखिएका अनियमितता नियन्त्रण गर्न सरकारले नयाँ प्रावधान लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार बहिरङ्ग ९ओपिडी० सेवामा वार्षिक अधिकतम २५ हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाइनेछ। बाँकी रकम अस्पताल भर्ना, आकस्मिक उपचार र शल्यक्रियाजस्ता अत्यावश्यक सेवामा उपयोग गर्न सकिनेछ।
स्वास्थ्य बिमामार्फत हाल एक हजार २९० प्रकारका औषधि उपलब्ध गराइँदै आएको छ। त्यस्तै, मङ्सिर महिनादेखि सेवाग्राहीले भौतिक बिमा कार्डको सट्टा नागरिक एपमा रहेको डिजिटल कार्ड देखाएरै सूचीकृत अस्पतालबाट उपचार सेवा लिन सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

