
रेशम विरही
जीवनको सुदूर वयमा
छचल्किए मेरा आँखाहरु
चल्मलाउँदै आए मनको धमिलो तलाउमा
बाल्यकालका मोहक दृश्यहरु
एउटा खुट्टा खोच्याउने मास्टर साहेबको बेतको छडी
बेन्चमा उभ्याएर कुट्दाकुट्दा
तुरूक्क पिसाप चुहाएको रामकृष्णको अनुहार
तिमीले चोरेको मेरो हात्तीछाप कापी
र, मैले रूँदै मनिटर मार्फत क्लास टिचरलाई दिएको उजुरी
भलिबल मैदानमा अग्ला खेलाडीले हेपेर
फुच्चाहरुमाथि गरेको असमान व्यवहार
त्यसविरूद्ध मसी लत्पतिएको मसिना अक्षरले लेखेर
स्कुलको भित्तामा टाँसेको विद्रोहको पोस्टर
र, स्कुल छेउको आलु–चना बेच्ने छाप्रे पसलमा
शिक्षकहरुले उडाएको पर्वत चुरोटको धुवाँ
‘गाउँछ गीत नेपाली’ बोलको राष्ट्रियगान
र, प्रधानपञ्च थिरबहादुरको हुकुम
तिमी र म टिफिनमा भागेर
पौडी खेल्ने गरेको मूल नहर
सुकमायाले तिमीलाई लेखेको लभलेटर
राधिकाले पोल खोलेर हावा झैँ फैलिएको
अनर्गल हल्ला
र, अचानक भएको सुकमायाको विवाह
देवीलाल कामीले छोएको पानीको घैँटो
र, हेडमास्टरले फुटाएको आवाजको प्रतिध्वनि
अहिले पनि मेरो कानमा बज्दैछ मित्र
बिस्तारै तिमीले यो विभेद बुझ्यौ
तिमी उफ्रियौ मुठी कसेर
म लामबद्ध भएँ पाखुरा सुर्केर
हामीले गायौँ समताको गीत
हामीले लगायौँ इनक्लाबको नारा
ओठमाथि मसिना जुँगा नउम्रिँदै
तिमी पस्यौ अँध्यारो कालकोठरीमा
म पसेँ मध्यरातमा खाली खुट्टा जङ्गल
मेरा खुट्टामा जङ्गली काँडाले घोचेर बसेको खिल
र, तिमीले खनेको सुरूङको कथा
तिमीले निकालेको उन्मुक्तिको ध्वनि
मैले मिसाएको उत्सर्गको स्वर
किंवदन्ती हुँदै गए मित्र !
कालान्तरमा तिमी फड्कियौ उपियाँझैँ
पुरातन सत्ताको सिंहासन
गाउन थाल्यौ रतिरागको गीत
वीभत्स र कुरूप संस्कृतिको महिमा
बिर्सियौ इतिहासका यावत दुरूह कालखण्ड
मैले त कहाँ बिर्सिन सक्छु र मित्र
लेखिरहेछु यो सानो पत्र बुढेसकालमा
पठाइरहेछु एउटा सानो सन्देश
मैले थामिरहेको छु धरातलमा आस्था
र, बालिरहेको छु आगतको दियो
मैले रोदनकम्पित आवाजमा गाइरहेछु अझै
पुराना स्मृतिको कहालीलाग्दो समयको गीत
र, लेखिरहेछु कुठाराघातको भीष्मकाव्य ।
–भरतपुुर–१६ (चितवन)


