
झापा, २८ कात्तिक । सशस्त्र प्रहरी बल नेपालले आज भारतबाट अबैध बाटो हुँदै नेपाल प्रवेश गर्दै गरेको बंगलादेशी नागरीकहरुलाई नियन्त्रणमा लिई अध्यागमन कार्यालय काँकडभिट्टा झापामा बुझाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सतिघट्टाबाट खटिएको डिउटी टोलीले बंगलादेशी नागरीकहरुलाई नियन्त्रणमा लिएको हो । झापा मेचीनगर नगरपालिका–७ गैरीगाउँ र भारततर्फ जिल्ला दार्जिलिङ्ग रानिगंज पञ्चायत २७ पानीट्याङ्की सीमा इलाकाबाट सशस्त्र प्रहरी हबल्दार सत्यनारायण राजवंशीको कमाण्डमा खटिएको सीमा पिकेट डिउटीले भारतबाट सीमा इलाकाको अबैध बाटो हुँदै नेपालतर्फ प्रबेश गर्दै गरेको अवस्थामा बंगलादेश घर बताउने २२ वर्षीय अब्दुल रहमान र २५ वर्षीय रियाद हुसेन नियन्त्रणमा लिएर अध्यागमनमा बुझाएको हो ।
उनीहरुमाथि शंका लागेर सोधपुछ तथा चेकजाँच गर्दा उनीहरुको साथबाट बंगलादेशी टाका १५०० र २ थान मोबाइल फेला परेको र कुनै पनि परिचय पत्र तथा नेपाल प्रवेश गर्ने अनुमति नभएकाले नियन्त्रणमा लिएर अध्यागमन कार्यालय काँकरभिट्टा झापामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेटक्वाटर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज बिष्टले जानकारी दिनुभयो ।


