
झापा, ३० कात्तिक । झापा, मोरङ, सुनसरी र संखुवासभाका विभिन्न स्थानबाट लागुऔषधसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर गरपालिका–६ स्थितबाट मुगुका २२ बर्षीय हिरा प्रसाद जैसीलाई २ ग्राम ब्राउन सुगर, दमक नगरपालिका–३ का २५ बर्षीय मनिश कुमार धिमाललाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी प्रवक्ता भीम बहादुर दाहालले जानकारी दिए।
यस्तै, दमक–४ का २४ बर्षीय मनिश अधिकारीलाई ६ ग्राम ८ सय ४० मिलिग्राम ब्राउन सुगर, मेचीनगर नगरपालिका–१० का ३३ बर्षीय नेसरु मियालाई २ ग्राम १ सय १० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित र प्रहरी चौकी चारआलीले मेचीनगर-१२ का २७ बर्षीय पवन राईलाई २ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको प्रवक्ता दाहालले बताए ।
यसैगरी जिल्ला प्रहरी कार्यालय संखुवासभाले सुनसरी इटहरी–४ का २३ बर्षीय बिष्णु शर्मालाई ६ सय मिलिग्राम ब्राउन सुगरसहित र लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीको संयुक्त प्रहरी टोलीले बिराटनगर–४ का २७ वर्षीय रोहित थापामगर र बिराटनगर–१५ का २३ वर्षीय बिक्रम कुमार साहलाई २ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको उनले बताए।
यसका साथै वडा प्रहरी कार्यालय धरान सुनसरीले प्रतिबन्धित औषधी ट्रामानिल ५० क्याप्सुल र स्पास्पेन ५० चक्कीसहित धरान १३ का २१ वर्षीय राजकुमार विश्वकर्मालाई र अस्थायी प्रहरी चौकी जनताबस्ती सुनसरीले इटहरी–५ का ४१ वर्षीय कुमार परियार र मोरङ सुन्दरहरैचा नगरपालिका–८ का २७ वर्षीय सुमन कार्कीलाई १ ग्राम १७ मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी घुस्की सुनसरीले २५ किलो गाँजासहित ओसार–पसारमा संलग्न सुनसरी हरिनगरा गाउँपालिका(७ का ३० बर्षीय जलामुदिन मियालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यलयहरुबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।


