
बनियानी, १२ पुस । झापाको कचनकवलमा गाउँपालिकामा जारी अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान र परिचयपत्र वितरण शिविरको पाँचौँ दिन बिहीबारसम्ममा ४०१ जनाले सेवा लिएका छन् ।
बिहीबार कचनकवल–४ को वडा कार्यालयमा आयोजित शिविरमा थप १२८ जनाले सेवा लिएसँगै सेवा लिनेको संख्या ४०१ पुगेको हो । कचनकवलको १, २, ३, ४ र ५ नम्बर वडामा शिविर सम्पन्न भइसकेको गाउँपालिका उपाध्यक्ष एवम् अपाङ्गता समन्वय समिति संयोजक नवराज भट्टराईले जानकारी दिनुभयो ।
साताव्यापी शिविर अन्तरगत बिहीबार १२८ जनाले सेवा लिएकामध्ये ७८ जना पुरुष र ५० महिला रहेका छन् । उनीहरुमध्ये ७२ जनासँग अपाङ्गता परिचय पत्र छ भने ५४ जनासँग छैन ।
शिविरमा शारीरिक अपाङ्गता भएका ४६ जना, दृष्टि सम्बन्धी १२, श्रवण सम्बन्धी २२, बोली सम्बन्धी एक, बौद्धिक अपाङ्गता तीन, मानसिक र मनोवैज्ञानिक चार जना, अटिजम एक र बहु अपाङ्गता भएका ११ जना फेला परेका छन् ।
झापाको कचनकवलमा गाउँपालिकामा जारी अपाङ्गता भएका व्यक्तिहरूका लागि स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान र परिचयपत्र वितरण शिविर कार्यक्रममा सम्बोधन गर्नुहुँदै कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले असहाय र अशक्त नागरिकका लागि नै रहेको बताउनुभएको छ ।
सामाजिक मन्त्रालयको आधार क्षेत्र अशक्त, अपाङ्ग, बालबालिका, ज्येष्ठ नागरिक, महिला, पछाडि पारिएका र परेका समुदाय रहेको बताउँदै मन्त्री राईले उनीहरुको उठान गर्ने काम सामाजिक विकास मन्त्रालय रहेको बताउनुभयो । “अशक्तहरुको साथमा कोशी प्रदेश सरकार रहेको छ”, उहाँले भन्नुभयो ।
संघीय सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन लिएको राष्ट्रिय संकल्पको मुल ध्येय पनि अशक्तहरुलाई सशक्त बनाउने रहेको मन्त्री राईको भनाइ छ । प्रदेश सरकारले १४ वटै जिल्लाका अशक्त अपाङ्गलाई सेवा दिने उद्देश्यले त्रिपक्षीय साझेदारीमा काम गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशीले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरेर उनीहरुलाई सबल बनाइने बताउनुभयो । सहायक सामग्रीदेखि तालिमसम्म दिएर आत्मनिर्भर बनाउने कार्य गर्ने उहाँ बताउनुहन्छ ।
स्थानीय तह, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशन त्रिपक्षीय लागत साझेदारी जिल्लाका १५ वटै पालिका अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम सञ्चालन भइरहेको करुणा फाउण्डेशन नेपालका निर्देशक योगेन्द्र गिरीले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



