
झापा, २१ पुस । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान व्यवस्थाभित्रै रहेर संविधान संशोधन गरिने बताउनु भएको छ ।
एक सय दिने विशेष सांगठनिक अभियान अन्तरगत झापाको मेचीनगरमा आज कांग्रेस झापा क्षेत्र नं. १ को क्षेत्रीय भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानमा संशोधन गर्नुपर्ने विषयलाई समेटेर संशोधन गरिने बताउनुभयो ।
झापा क्षेत्र नं. १ का सांसद समेत रहनुभएकाले महामन्त्री शर्माले पार्टी संगठनको नेतृत्व प्राप्त गर्ने व्यक्ति र जनप्रतिनिधिले प्राप्त मतको सम्मान हुने गरी काम गर्न सुझाव दिनुभयो । “पाएको मतको सम्मान हुने गरी काम गरौं”, उहाँले भन्नुभयो, “पार्टी संगठनभित्र जिम्मेवारी प्राप्त गर्नेले संगठन बलियो बनाउनुहोस्, जनप्रतिनिधि बनेकाले जनताको भावना अनुसारको गर्नुहोस् ।”
पार्टीको महाधिवेशन समयमै हुने बताउँदै उहाँले एक व्यक्ति दुई पटक मात्रै प्रधानमन्त्री बन्ने व्यवस्था गरिनुपर्नेमा उहाँको जोड दिनुभयो ।
कार्यक्रमका कांग्रेस केन्द्रीय सदस्य गोमा भट्टराईले अधिकार माग्ने मात्रै नभई खोज्न र खोस्न सक्नुपर्ने धारणा राख्नुभयो । उहाँले युवालाई नेतृत्वमा पु¥याउन सके युवामा आशा जाग्ने र पार्टी रुपान्तरण हुने मत राख्नुभयो ।
कांग्रेस सभापति देउकुमार थेवेले जिम्मेवारी बुझेर काम गर्न तल्लो निकाय र नेतृत्वलाई आग्रह गर्दै पार्टीले दिएको जिम्मेवारी पूरा गर्न सके पार्टीका धेरै समस्या हल हुने उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेस कोशी प्रदेश सदस्य विमल आचार्य, कोशी प्रदेश समिति सदस्य शोभा श्रेष्ठ नेम्वाङ, महासमिति सदस्य राम कट्टेल लगायतले पार्टीमा गुट–उपगुटको अन्त्य गर्नुपर्ने, सर्वसम्मतका नाममा लोकतान्त्रिक अभ्यासबाट गर्न नदिने काम पूर्णरूपमा रोकिनु पर्ने जोड दिनुभयो ।
पार्टीको १ नम्बर क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्रीय उपसभापति सन्तोष न्यौपानेले स्वागत गर्नुभएको थियो भने सञ्चालन सचिवद्वय सुरेन्द्र बुढाथोकी र गुणराज भट्टराईले सञ्चालन गर्नुभएको थियो ।



