
झापा, २२ पुस । झापाको अर्जुनधारा नगरपालिका–१ स्थित शंकराचार्य पीठ साधुटारमा आयोजना हुने सर्वकल्याण अभिषेकात्मक अतिरूद्र महायागको तयारी अन्तिम चरणमा पुगेको छ ।
महायागका लागि आवश्यक तयारीसँगै संचरना निर्माणको काम अन्तिम चरणमा पुगेको हो । अतिरुद्र अभिषेकात्मक महायाग स्थल, पडाल, स्वागतद्वार, पीठ परिसरमा आवश्यक रंगरोगनसहितका पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । केही काम सकिएको छ भने केही पूरा हुने क्रममा रहेको छ ।

आज साधुटारमा जगतगुरु श्रीरामानन्दचार्य सेवापीठ बराहक्षेत्र १ चताराधामका अनन्तती विभूषित जगतगुरु श्रीरामानन्दचार्य स्वामी रामकृष्णाचार्य महायोगी शिद्ध बाबाले अवलोकन गरेका छन् । शंकराचार्य पीठको अवलोकनपछि महायोगी शिद्धबाबाले महायाग सम्पन्न गर्न सबै देशबासी लाग्नु पर्ने धारणा राख्दै आफ्नो तर्फबाट ५१ हजार रुपैयाँ सहयोग प्रदान गरे । महायोगी शिद्धबाबाले अतिरुद्र महायाग ठूलो महायज्ञ भएकाले त्यसको अपनत्व झापावासीले लिनु पर्ने बताए ।

जगतगुरु श्रीरामानन्दचार्य सेवापीठ बराहक्षेत्र १ चताराधामका अध्यक्ष बाबुराजा ओझाले ५१ हजार रुपैयाँ बरावरको चेक शंकराचार्य पीठ साधुटारका आचार्य प. लक्ष्मीप्रसाद खतिवडालाई हस्तान्तरण गरेका हुन् । सोही क्रममा नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले महायाग सम्पन्न गर्न सबैले सहयोग गर्नु पर्ने बताउँदै ५१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।
पीठका आचार्य खतिवडाले आगामी माघ १ गतेदेखि ११ गतेसम्म महायाग हुने र त्यसको तयारी तीब्र पारिएको बताए । उनले महायाग सम्पन्न गर्न दुई करोड रुपैयाँ खर्च हुने बताए । सबै भक्तजनको सहयोगबाट महायाग सम्पन्न हुने उनले बताए ।
विश्वशान्तिको कामनासहित महायाग पुस २९ गते पूर्णिमाका दिन साधुटारबाट कनकाई माई पुगेर जल लिएर कलशयात्रा गर्ने योजना रहेको छ । अध्यक्ष खतिवडाका अनुसार अभिषेकात्मक अतिरुद्र महायाग भनेको एक पटक रुद्री पढेर गर्नुलाई रुद्र, ११ पटक रुद्री पढेर अभिषेक गर्नुलाई रुद्री, १२१ पटक रुद्री पढेर अभिषेक गर्नुलाई लघुरुद्री, १,३३१ पटक रुद्री पढेर अभिषेक गर्नुलाई महारुद्री र १४,६४१ पटक रुद्री पढेर अभिषेक गर्नुलाई अतिरुद्री भनिन्छ ।
१५१ जना उपाध्याय ब्रह्मण पण्डीतले महायागमा वरण गर्ने जनाइएको छ ।
महायागबाट रहेको यज्ञशेष गुरुकूलको दीर्घकालीन संरक्षण गर्ने उद्देश्यले सञ्चालित ११ करोडको अक्षयकोष स्थापना महाअभियानमा सुरक्षितसमेत गरिने अध्यक्ष खतिवडाले बताए । महायागमा अभिषेक, पाठ, हवन बिहान ८ बजेबाट शुरु भएर १२ बजेसम्म हुनेछ भने १ बजेबाट प्रवचन हुने बताइएको छ । श्रीशङ्कराचार्यपीठमा श्री बेद बेदाङ्ग संस्कृत पाठशाला पनि सञ्चालनमा रहेको छ ।
अतिरुद्र अभिषेकात्मक महायाग स्थलको समेत उद्घाटन गरिएको छ । महायाग गर्ने स्थलमा पूजापाठपछि सुनको फाली भएको हलोसहित गोरुले तीन फन्का जोतेर महायाग स्थलको शुभराम्भ गरिएको थियो । २०३३ सालमा स्थानीय केदारनाथ खतिवडाको अगुवाईमा सामाजिक सद्भाव र प्रेरणाबाट आर्ष गुरुकुलीय आचारसंहिता अनुरुप सञ्चालन हुने गरी संस्कृत पाठशालाको प्राराम्भ भएको थियो ।


