
झापा, २४ पुस । कर्णाली बचत तथा ऋण सहकारी संस्थाले दिवंगत शेयर सदस्य केलावति राजबंशीको चौथो पुण्यतिथिको अवसरमा उनलाई सम्मान गर्दै संस्थाबाट लिएको १ लाख ऋणमध्ये ७५ हजार ६०० मिनाहा गरेको छ।
कर्णाली सहकारीका उपाध्यक्ष रामकुमार गैतमले संस्थाको निर्णय पत्र वाचन गरी ऋण मिनाहाको घोषणा गरेका थिए। कार्यक्रममा केन्द्रका सचिव भूपाल बस्नेतले स्व राजबंशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै समवेदना पत्र वाचन गरेका थिए। मृतक परिवारलाई सहकारीको नियमअनुसार ६ हजार पनि हस्तान्तरण गरिएको थियो।
उक्त कार्यक्रममा बनियानी सेवा केन्द्रका संयोजक, सदस्यहरू, तथा सहकारीका कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो। गत पुस ७ गते तारावनामा बनमा बन ड्युटी गरेर फर्किने क्रममा स्थानीय महिलाहरूको समूहलाई जङ्गली हात्तीले आक्रमण गर्दा केलावति राजबंशीको निधन भएको थियो।
हात्तीको आक्रमणले उनको बायाँ हातमा गहिरो चोट लाग्नुका साथै दाहिने खुट्टा भाँचिएको थियो। गम्भीर घाइते अवस्थाको उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो।


