
बनियानी, २४ पुस । भातरबाट नेपालतर्फ बिस्टुकभित्र लुकाएर लागुऔषध ल्याउँदै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा चढेर मंगलबार साँझ काँकरभिट्टातर्फ आउँदै गरेका पाँचथर मिक्लाजुङ गाउँपालिका–४ रविका ३१ वर्षीय दिलप्रसाद राई र मिक्लाजुङ–५ स्थायी घर भई हाल झापा दमक नगरपालिका–२ हिमालय टोलमा डेरा गरी बस्दै आएकी २९ वर्षीया स्मारिका नेम्बाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मेचीनगर–६ काँकरभिट्टा स्थित पुरानो मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुको झोलामा रहेको पतञ्जली दुध लेखिएको विष्कुटको प्याकेटभित्र खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिकबाहेक चार ग्राम बरामद गरेको छ ।
सोधपुछमा उनीहरुले भारतको पानीट्याङ्कीबाट खरिद गरी ल्याएको भनेर बताएका छन् । उनीहरु दुवै जनालाई लागुऔषधसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय झापाले छ ।


