
बनियानी, २५ पुस । गैंडाको खागजस्तो वस्तु र लागुऔषधसहित एक भारतीय नागरिकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
झापा मेचीनगर नगरपालिका–६ काँकरभिट्टा स्थित हिमालय गेस्ट हाउसको कोठा नं. १०२ बुकिङ गरी बसेका भारत वेष्ट बंगाल उत्तर मेन्दाबारीका नारायण रामधामलाई गैंडाको खागजस्तो वस्तु र लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले जानकारी दिनुभयो ।
‘रामधामले होटलमा प्रतिबन्धित लागुऔषध ल्याएर राखेको छ’ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनको कोठामा तलासी लिँदा काटुनभित्र सतह गोलाइ १८.६ इञ्च, उचाई ८.६ इञ्च र तौल १ केजी ७०० ग्राम भएको गैंडाको खाग जस्तो देखिने वस्तु एक थान र प्रतिबन्धित लागु–औषध खैरो हिरोइन प्लाष्टिकबाहेक २ ग्राम ८०० मिलिग्राम, प्येभोन स्पास प्लस लेखिएको ट्याबलेट १८ पत्ता, डिजिटल तराजु एक थान, मोबाइल फोन दुई थान बरामद भएको छ ।
बरामद लागुऔषध र अन्य वस्तुसहित उनलाई नियन्त्रणमा लिए इलाका प्रहरी कार्यालय काँकरभिट्टमा राखे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


