
झापा, २७ पुस । झापाको मेचीनगर–१५ स्थित भगवती प्लाई फ्याक्ट्री नजिकको भित्री सडक खण्डमा कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
शुक्रबार राति करिब ९ः३० बजे दक्षिणबाट उत्तरतर्फ गइरहेको रातो रंगको कारले भारतको पश्चिम बंगाल, कुचबिहार निवासी २५ वर्षीय अप्पु राय र २० वर्षीय केशव मादकलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते दुबै जनालाई उपचारका लागि धुलाबारीस्थित आम्दा अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा राति ११ः३० बजे अप्पु रायको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । गम्भीर घाइते केशव मादकलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको छ ।
प्रहरीका अनुसार, मृतक र घाइते दुवै जना मेचीनगर–१५ स्थित हिम शिखर फ्याक्ट्रीमा काम गर्दै आएका थिए । दुर्घटनापछि प्रहरीले खोजतलास गर्दै भारत पश्चिम बंगाल बागडुग्राका २३ वर्षीय रोशन खत्रीलाई आज बिहान ११ः२० बजे पक्राउ गरेको छ। घटना हुँदा प्रयोग भएको WB74AG1225 नम्बरको कार समेत नियन्त्रणमा लिइएको छ। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी ज्यामिरगढीको टोलीले थप अनुसन्धान गरिरहेको छ।


