
कनकाई, १२ माघ । चुडाल बन्धु कल्याण केन्द्रीय समितिले पत्रकार चुडामणि तिम्सिना (सिएम शर्मा) सहित आठ जना सम्मान गरेको छ ।
समितिको १७ औं वार्षिक साधारणसभाको अवसरमा दुई दशक अघिदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल ठोस खबरका सम्पादक तिम्सिनालाई सम्मान गरेको हो । , नेपाल पत्रकार महासंघ, प्रेस सेन्टर नेपाल, कनकाई सुरुङ्गा प्रेस क्लब लगायतका विभिन्न संघ–संस्थामा आबद्ध उहाँले पत्रकारिता माध्यमबाट समाज रुपान्तरणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै समितिले चुडाल बन्धु कल्याण समितिका संस्थापक अध्यक्ष भद्रप्रसाद चुडालले आफन्तजनको नाममा स्थापना गर्नुभएको विष्णुलक्ष्मी हिमादेवी अक्षयकोषबाट सम्मान गरेको हो ।
त्यसैगरी, संस्थाको विष्णुलक्ष्मी हिमादेवी अक्षयकोषबाटै संस्थाको आमाबुबा कोषका अध्यक्ष कृष्णप्रसाद चुडाललाई उहाँले कोषमा पुर्याउनुभएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । समितिले विभिन्न पुरस्कार तथा सम्मानबाट प्रेम प्रसाद चुडाल (प्रकाश), शिक्षक शान्तादेवी चुडाल खरेल, पत्रकार तथा साहित्यकार भवानीप्रसाद चुडाल, मनमाया चुडाल, जेभिसा चुडाललाई सम्मान गरेको छ ।
सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष भद्रप्रसाद चुडाल, कार्यक्रमका अध्यक्ष गोपाल चुडाल लगायतले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विशिष्ठ अतिथि चिलवाल बन्धुका केन्द्रीय अध्यक्ष फडेन्द्र चिलवालले हाल सम्मको अध्ययन अनुसन्धानका क्रममा चुडाल र चिलवालहरुको ईतिहास जोडिएको देखिएको हुदा यस बिषयमा थप अध्ययन अनुसन्धान गरी निचोडमा पुग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कनकाई–८ का वडा अध्यक्ष लिलाबहादुर कटुवाल, संग्रौला बन्धु सेवा समन्वय समितिका केन्द्रीय महासचिव युवराज संग्रौला, पराजुली सेवा समाजका केन्द्रीय उपाध्यक्ष दुर्गा पराजुली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत संस्थाका बरिष्ठ उपाध्यक्ष श्रीप्रसाद चुडालले गर्नुभएको थियो भने सञ्चालन महासचिव भरतमणि चुडालले गर्नुभएको थियो ।


