
कचनकवल, १४ माघ । गरिमा एग्रो फार्मले कचनकवलका कृषकहरूको उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले हल्दिनाथ–१ जातको उन्नत धानको बीउ वितरण गरेको छ । कचनकवल–६ मा आज आयोजित एक विशेष कार्यक्रमका बीच ७५ प्रतिशत छुटमा २४ सय किलो धानको बीउ ६० जना कृषकलाई वितरण गरिएको हो ।
गरिमा एग्रोका प्रोप्राइटर मानप्रकाश संग्रौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गत वर्ष फार्मले वितरण गरेको बीउबाट उत्कृष्ट उत्पादन गरेका ११ जना कृषकलाई सम्मान गरिएको थियो। सम्मानित कृषकहरूमा तीलरुपा बराल, बोलप्रसाद दंगाल, रोमा विष्ट, पार्वता भण्डारी, शान्ताकुमार ढुंगेल, टंकनाथ धमला, दुर्गा लामिछाने, यसोदादेवी निरौला, नरमाया लामिछाने, अर्पणा कट्टेल बराल र वासना ढुंगेल रहेका छन्। सम्मानित कृषकहरूले गरिमा एग्रोद्वारा उपलब्ध गराइने बीउ उन्नत मात्र नभई उत्पादनमा कुशल साबित भएको बताए ।
गरिमा एग्रोले कृषकलाई उन्नत प्रजातिका बीउहरू उपलब्ध गराई स्थानीयस्तरमै उत्पादन वृद्धि गर्न प्रेरित गर्दै आएको छ। हल्दिनाथ–१ धानको बीउ स्थानीय मौसम र माटोको अनुकूल प्रजाति भएकाले यसले कृषकलाई राम्रो प्रतिफल दिन सहयोग पुग्ने बताइएको छ । कार्यक्रममा अनेमसंघ कचनकवलकी अध्यक्ष तथा गत वर्षकी उत्कृष्ट कृषक अर्पणा कट्टेल बरालले आफूले गरिमा एग्रोले वितरण गरेको बीउ प्रयोग गरेर उल्लेख्य उत्पादन गरेको अनुभव सुनाइन् ।
कार्यक्रमका समाजसेवी लक्ष्मी बझगाईंले किसानको मेहनतले मात्र समृद्धि सम्भव हुने बताउँदै उन्नत बीउ प्रयोगले उत्पादनमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरिन्। उनले कृषि क्षेत्रमा गरिमा एग्रोले पु¥याएको योगदानको प्रशंसा गरिन् । कचनकवल–६ का वडा सदस्य टेनिस राजवंशीले उन्नत बीउ तथा प्रविधि प्रयोगमार्फत स्थानीय कृषकहरूको जीवनस्तरमा सुधार ल्याउन यस्ता कार्यक्रमको महत्व औँल्याए। साथै, मित्तल एग्रोका प्रोप्राइटर मोहन मित्तलले कृषकलाई आत्मनिर्भर बनाउन सामूहिक प्रयासको खाँचो रहेको बताए ।
गरिमा एग्रोका प्रोप्राइटर मानप्रकाश संग्रौलाले कृषि विकासको लागि फार्मले आगामी दिनमा पनि यस प्रकारका सहुलियत योजनाहरू सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।


