
बुद्धशान्ति, १४ फागुन । बुद्धशान्ति गाउँपालिकाको आयोजनामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । पालिकाले २५ वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाहरुलाई लक्षित गरेर फागुन ११ गतेदेखि शिविर सञ्चालन गरेको छ । शिविर १७ गतेसम्म सञ्चालन हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धिरेन्द्रकुमार यादवले बताएका छन् । शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता सेवा अन्तर्गत स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला, आङ खस्ने समस्या सम्बन्धि पनि जाँच गरिनेछ ।
पालिकाका ७ वटै वडाका स्वास्थ्य सेवा केन्द्रमा स्थानमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखाले जनाएको छ । जस अन्तरगत वडा नं. १ मा ३९ जना, वडा नं. २ मा ६५ जना महिलाहरुको जाँच भइसकेको छ । अन्य वडामा पनि धमाधम जाँच भइरहेको स्वास्थ्य शाखाले जनाएको छ ।
पछिल्लो समय महिलाहरुमा सबैभन्दा बढी स्तन क्यान्सर र दोस्रोमा पाठेघरको मुखको क्यान्सर हुन्छ । विश्वमा प्रति वर्ष पाँचलाख महिला पाठेघरको क्यान्सरबाट पीडित हुन्छन्, तीमध्ये करीब दुई लाखको मृत्यु हुन्छ । नेपालमा प्रति वर्ष कति महिलालाई यी रोग लाग्छ, कतिको मृत्यु हुन्छ भन्ने तथ्यांक छैन । साधारणतः ४० वर्ष उमेर कटेपछि देखा पर्ने यो रोग अविकसित देशहरूमा ३० वर्ष वा सोभन्दा कम उमेरका महिलाहरूमा समेत हुने गरेको छ । यसकारणपनि सबै महिलाहरुले आफ्नो पायक पर्ने स्थानमा गएर आफ्नो स्वास्थ्य जाँच गर्न प्रमुख यादवले बताएका छन् ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



