शिवसताक्षी, २३ जेठ । झापाको शिवसताक्षी नगरपालिकाले सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको हो । सूर्तीजन्य पदार्थले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले त्यस्ता पदार्थहरु बिक्री वितरणमा रोक लगाइएको नगरप्रमुख मेगाहाङ थोप्राले बताउनुभयो ।

“शिक्षण संस्था आसपास सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने प्रावधान भए पनि बिक्री वितरण भइरहेको व्यापक गुनासो आइरहेको छ”, उहाँले भन्नुभयो, “विद्यार्थीको स्वास्थ्य र आनीबानीमा नकारात्मक असर परिरहेकाले तुरुन्त सूर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउन निर्देशन दिएका छौं ।”
शिक्षण संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथलय र सार्वजनिक स्थलहरुको सय मिटर भित्र सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउनुका साथै १८ वर्ष मुनिका बालबालिका, गर्भवति महिलालाई सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न र सेवन गर्न प्रतिबन्ध लगाइएको नगरपालिकाले जनाएको छ ।
यसअघि, झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रमा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो ।


