मोरङ, १ असार । विश्व रक्तदाता दिवसको अवसरमा रक्तदानको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विराटनगरका तीन जना सम्मानित भएका छन् ।
सम्मानित हुनेमा चर्मरोग विशेषज्ञ डा केएन ठाकुर, आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्री र अष्टचिरञ्जीवी मन्दिरका अध्यक्ष विनायक पन्त छन् ।शनिबार नेपाल स्वयम्सेवी रक्तदाता समाज मोरङको आयोजनामा विराटनगरमा भएको कार्यक्रममा कोशी प्रदेशमा नै सबैभन्दा बढी रक्तदान गर्ने व्यक्तिका रुपमा डा ठाकुर सम्मानित भएका हुन् । ७० वर्षीय ठाकुरले ६० वर्षको उमेरसम्ममा १०९ पटक रक्तदान गरेका थिए ।
यस्तै, आफैँ रक्तदाता मात्र नभएर नाटक, टेलिफिल्म तथा चलचित्र लगायतको माध्यमबाट स्वयम्सेवी रक्तदातालाई बढाउने कार्यमा योगदान दिए वापत भैरव क्षेत्रीलाई सम्मान गरिएको हो । दुर्लभ रगत समूह बी नेगेटिभ भएका रक्तदाता सामाजिक अभियन्ता विनायक पन्त रगत आवश्यक परेकाका लागि जुनसुकै बेलामा पनि सहयोगका लागि पर्ने भएवापत सम्मानित भएका हुन् ।
१०३ पटक रगत दान गर्ने कार्यक्रमका अध्यक्ष हरिमोहन श्रेष्ठले उनीहरुलाई सम्मान गरेका थिए ।


