शिवसताक्षी, १ असार । झापाको शिवसताक्षीमा जग्गा धनीपूर्जा वितरणका लागि निस्सा वितरण गर्न थालिएको छ । नगरको वडा नं. १ र २ मा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गर्न शुरु गरिएको हो ।
शिवसताक्षीमा रहेका भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाण पत्र वितरणका लागि पहिलो चरण निस्सा वितरण नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताउनुभयो । उहाँले अन्य वडाहरुमा भन्दा वडा नं. १ र २ मा पहिलेदेखि नै काम भइरहेकाले आजबाट निस्सा वितरण गर्न सुरु गरिएको बताउनु भयो ।

जग्गा धनी प्रमाण पत्र वितरणका लागि अब काम नरोकिने र क्रमशः ३ देखि ६ नम्बर वडासम्म निस्सा वितरण काम गरिने नगरप्रमुख थोप्राले बताउनुभयो । अब नगरबासीले धनीपूर्जा प्राप्त गर्न बाटो खुल्दै गएको छ । सबैलाईं आशावादी हुन नगरप्रमुखले आग्रह गर्नु भएको छ ।
वडाको ११ वटै वडाहरुमा धनी पूर्जा वितरण गर्न निकै समय लाग्न सक्ला तर काम सकिएका वडाहरुमा धनीपुर्जा वितरण गर्दै जाने लक्ष्य राखिएको नगरप्रमुख थोप्राले बताउनुभयो ।

निस्सा वितरणमा उपप्रमुख नरमाया कार्कीको समेत सहभागिता रहेको थियो । शिवसताक्षीको वडा नं. १ मा ५९ जनालाई निस्सा वितरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जसमा ५८ जनालाई अव्यवस्थित बसोबासी र १ जनालाई भुमिहिन सुकुम्बासीलाई वितरण गरिएको हो ।
त्यस्तै वडा नं. २ मा ९४ जना अस्थायी बसोबासी र १ जना भुमिहीन सुकुम्बासीलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले दावी विरोधनका लागि सूचना ७ दिने र १५ दिने सुचना प्रकाशित गरेको छ ।
भूमिहीन सुकुम्बासी, भूमिहिन दलितका लागि ७ दिन र अव्यवस्थित बसोबासीका लागि १५ दिने सूचना निकालिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।


