
शिवसताक्षी, २ असार । शिवसताक्षी नगरपालिकाको आयोजनामा तीन दिवसीय महिलाका लागि कानूनी परामर्श तालिम सम्पन्न भएको छ ।
शिवसताक्षी नगरपालिका वडा नं. ११ दूधेमा सञ्चालन भएको तालिमको समापनसँगै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । सहभागीहरुलाई शवसताक्षी नगरपालिका वडा नं. ११ का वडाध्यक्ष बहादुर आङ्गबो र नगरका कार्यक्रम अधिकृत महेश लामिछानेले प्रमाण पत्र वितरण गरेका थिए ।
तालिममा नगरपालिकाका सबै ११ वडाबाट २र२ जना महिला तथा तीन जना नगरपालिका कर्मचारीसहित कुल २५ जनाको सहभागिता रहेको थियो । सहभागी सबै घरेलु हिंसा, महिला हिंसा लगायत विभिन्न प्रकारका सामाजिक अन्यायमा परेका महिलाहरु थिए ।
तालिममा हिंसामा परेका महिलालाई कानुनी सहारा कसरी लिने, उजुरी कहाँ र कसरी दिने, घरेलु हिंसा, मानसिक यातना, सीमाना विवाद लगायतका विषयमा न्यायिक प्रक्रियाका उपायबारे जानकारी दिइएको थियो । तालिमले महिलाहरूलाई अन्यायविरुद्ध आवाज उठाउने क्षमता र आत्मविश्वास प्रदान गरेको सहभागीहरूको भनाइ छ ।
सहभागी बाग मर्र्डीले तालिमबाट समुदायमा अझै पनि घरेलु हिंसा भइरहेको यथार्थ उजागर गर्दै आगामी दिनमा समुदायमै पुगेर यस्ता कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन् । यस्तै, प्रतिमा नेपाल, टिकामाया पाठक, र रक्षा नेपालले पनि तालिमको अनुभव साझा गरेका थिए ।
२०८२ जेठ ३० गतेदेखि आषाढ १ गतेसम्म सञ्चालन तालिमको अधिक्ता लेखनाथ निरौला, पत्रकार गोपाल काफ्ले, शिवसताक्षी नगरपालिका प्रमुख छविलाल ढकाल, न्यायिक समिति कर्मचारी नर्वदा दाहालले तालिमको सहजीकरण गरेका थिए । शिवसताक्षी नगरपालिकाको आयोजना तथा शिवसताक्षी मिडिया प्रालिको समन्वयमा तालिम सञ्चालन भएको थियो ।


