
तेह्रथुम, ६ पुस । तेह्रथुममा जारी भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगिताको उपाधिका लागि माइभ्याली फुटबल क्लब इलाम र उदयपुर भिड्ने भएका छन् ।
आज भएको सेमीफाइनल खेलमा उदयपुरले पाँचथरलाई ४–२ र इलामले झापालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेका हुन् ।

खेलको पहिलो हाफमा उदयपुरका हेम राईले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए । दोस्रो हाफमा पाँचथरका लागि गजिन राईले एक गोल फर्काएका थिए । निर्धारित समयमा एक–एकको बराबरी खेलेपछि खेल ट्राइवेकरमा धकेलिएको थियो ।
यस्तै आजै भएको सेमीफाइनलको दोस्रो खेलमा माइभ्याली फुटबल क्लब इलामले जलथल फुटबल क्लब झापालाई २–० ले पराजित गरेको छ । इलामका लागि मनिष राई र पासाङ शेर्पाले एक–एक गोल गरे ।
प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रदेश नंं १ का १० जिल्लाका एक एक टिम सहभागी थिए । विजेताले नगद दुई लाख पाँच हजार र उपविजेताले नगद एकलाख १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
