
झापा, २१ साउन । एएफसी यु–२० महिला एसियन कप छनोट अन्तर्गत समूह ‘ए’ का खेलहरू आजदेखि भुटानको राजधानी थिम्पुमा सुरु हुँदैछन्। पहिलो खेलमा नेपालले घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्नेछ। खेल साँझ ५:४५ बजे थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा हुनेछ।
समूह ‘ए’ मा नेपाल, भुटान, उत्तर कोरिया, र साउदी अरब रहेका छन्। मङ्गोलिया भने प्रतियोगिताबाट नाम फिर्ता लिइसकेको छ। उत्तर कोरिया यसअघि तीनपटक फिफा यु–२० विश्वकप र दुईपटक एएफसी एसियन कप जितिसकेको बलियो टोली हो।

नेपालले समूह उपविजेता बन्ने लक्ष्य लिएको छ। ३२ राष्ट्र सहभागी छनोट प्रतियोगितामा आठ समूह छन्। समूह विजेता आठ टोली र उत्कृष्ट तीन उपविजेता टोलीले सन् २०२६ मा थाइल्यान्डमा हुने यु–२० महिला एसियन कपमा स्थान बनाउनेछन्।
नेपालले हालै बङ्गलादेशमा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा उपविजेता स्थान हासिल गरेको थियो। उक्त प्रतियोगितामा नेपालले भुटानलाई दुई खेलमा ६–१ र ८–० ले पराजित गरेको थियो।
नेपालका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले टिमको तयारी राम्रो रहेको बताउँदै भुटानलाई घरेलु टोलीका रूपमा कमजोर नठानिएको स्पष्ट पार्नुभयो। कप्तान बिर्सना चौधरीले सबै टोलीलाई ध्यानमा राखी तयारी गरिएको बताउनुभयो।
भुटानकी प्रशिक्षक टङ्कमाया घलेले नेपालविरुद्ध सकारात्मक उर्जाका साथ उत्रने बताउँदै दुई नयाँ खेलाडीलाई टिममा समावेश गरिएको जानकारी दिनुभयो। कप्तान सोनाम छोमोले घरेलु मैदानमा उत्साहित रहेको बताउँदै उत्तर कोरियालाई बलियो टोली मानेको बताइन्।
उत्तर कोरियाका प्रशिक्षक री सोङ होले भुटानको उच्च भू–उचाइले टिमलाई असर गर्न सक्ने बताउनुभयो। साउदी प्रशिक्षक जेभियर भिलामालले मौसमसँग अभ्यस्त हुन टिमलाई २० दिनअघि नै भुटान ल्याइएको जानकारी गराउनुभयो।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

