
काठमाडौं, २० साउन । एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ। बुधबार भुटानको थिम्पुस्थित चिम्लिङथाङ रंगशालामा दुवै टिमले १–१ गोल गर्दै अंक बाँडे ।
नेपालका लागि फरवार्ड सेनु परियारले खेलको पहिलो मिनेटमै अग्रता दिलाइन्। तर, १९औँ मिनेटमा केल्जिन वाङमोले भुटानका लागि बराबरी गोल फर्काइन्। दोस्रो हाफमा दुवै टिमले केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन्।

नेपाल रहेको समूहमा दक्षिण कोरिया, भुटान र साउदी अरेबिया छन्। प्रत्येक समूहको विजेता टोलीले २०२६ मा आयोजना हुने एएफसी यू–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ।
सोही दिन समूह ‘ए’ अन्तर्गत दक्षिण कोरियाले साउदी अरेबियाविरुद्ध १५–० को फराकिलो जीत हासिल गर्दै शीर्ष स्थानमा उक्लिएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

