
ताप्लेजुङ, २५ साउन । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। उद्घाटन खेलमा द योङ ब्रदर्श क्लब, सुनसरीले तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो।
ताप्लेजुङको भानु माविको खेल मैदानमा सम्पन्न खेलको २६औँ मिनेटमा आयोजक टिमका सञ्जय श्रेष्ठले गोल गर्दै अग्रता दिलाएका थिए। तर खेलको ७०औँ मिनेटमा द योङ ब्रदर्श क्लब इटहरीका नीरज खड्काले बराबरी गोल गर्दै खेललाई १–१ मा ल्याए। त्यसपछि ७४औँ मिनेटमा योगन राईले निर्णायक गोल गर्दै टिमलाई २–१ को जित दिलाए।

यस जितसँगै द योङ ब्रदर्श क्लबले सोमबार भारत र काठमाडौंबीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ।
आइतबारको खेलमा सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापा आमनेसामने हुनेछन्।
लाखेजात्राको अवसरमा आयोजना गरिएको प्रतियोगितामा भारतसहित नेपालका चार प्रदेशका प्रतिष्ठित क्लबहरूको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुने आयोजक लाखेजात्रा सञ्चालक समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो।
प्रतियोगितामा विजेता टिमले नगद रु. ७ लाख २ हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले रु. ३ लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

