
ताप्लेजुङ, २६ साउन । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब ललितपुर सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार सम्पन्न क्वाटरफाइनल खेलमा चर्च ब्वाइजले भारतको लिजेन्ड फुटबल एकेडेमी, सिलगुडीलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
खेलको १०औँ मिनेटमा समीर जर्घाले गरेको गोल नै निर्णायक बन्यो। उत्कृष्ट प्रदर्शनका लागि चर्च ब्वाइजका गोलकिपर विश्वास चौधरी ‘म्यान अफ दि म्याच’ घोषित भए। उनले नगद ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

प्रतियोगिता लाखे जात्राको अवसरमा लाखे जात्रा सञ्चालन समितिद्वारा आयोजना गरिएको हो। समितिका अध्यक्ष सागर मादेनका अनुसार मंगलबार सिराहाको सलहेश युवा क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लबबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ।
शनिबारदेखि ताप्लेजुङको फुङलिङस्थित भानु जनमाविमा सुरु भएको प्रतियोगितामा सुनसरीको द योङ ब्रदर्श क्लब र झापाको रेड स्टार फुटबल क्लब पनि सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।
फाइनल खेल साउन ३१ गते सम्पन्न हुनेछ। विजेताले नगद ७ लाख २ हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँसहित सम्मान प्राप्त गर्नेछ। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ।
भारतका एक र नेपालका चार प्रदेशका प्रतिष्ठित क्लबहरूको सहभागिता रहेको यो प्रतियोगिता ताप्लेजुङमा फुटबलप्रेमीहरूका लागि विशेष आकर्षण बनेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

