
ताप्लेजुङ, २७ साउन । ताप्लेजुङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सिराहाको सलहेश युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। मङ्गलवार सम्पन्न खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सलहेशले अन्तिम चारमा स्थान बनाएको हो।
गत वर्षको विजेता सलहेश युवा क्लबका लागि खेलको पाँचौँ मिनेटमै सोदिया आदमले गोल गर्दै खाता खोले। त्यसपछि ३५ औँ मिनेटमा सुजित बुढाथोकीले दोस्रो, ३७ औँ मिनेटमा युसुफ मलिकले तेस्रो, ४२ औँ मिनेटमा फिदिमका खेलाडीबाट आत्मघाती गोल, ६६ औँ मिनेटमा पुनः युसुफ मलिकको दोस्रो गोल, र अन्ततः ८० औँ मिनेटमा मोहित गुरुङको गोलमार्फत टिमले सहज जित दर्ता गर्यो।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल भोली ९बुधवार० सुनसरीको द योङ ब्रदर्श क्लब र ललितपुरको चर्च ब्वाइज क्लबबीच हुने आयोजक सचिन टिकेन्द्र नेपालीले जानकारी दिए।
लाखे जात्राको अवसरमा लाखे जात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगितामा आजको खेलको ‘म्यान अफ दि म्याच’ युसुफ मलिक घोषित भए। उनले नगद ७ हजार रुपैयाँ प्राप्त गरे । शनिवारदेखि ताप्लेजुङको फुङलिङस्थित भानु जनमाविमा सुरु भएको प्रतियोगितामा सुनसरीको द योङ ब्रदर्श क्लब, झापाको रेड स्टार फुटबल क्लब, चर्च ब्वाइज क्लब ललितपुर र सलहेश युवा क्लब सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।
३१ साउनमा सम्पन्न हुने फाइनल खेलका विजेताले नगद ७ लाख २ हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगितामा भारतका एक र नेपालका चार प्रदेशका प्रतिष्ठित क्लबहरूको सहभागिता रहेको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

