
झापा, ४ भदौ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ। यसअघि नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ रनले हराएको थियो।
डार्विनस्थित काजालिस एरेनामा भएको खेलमा नेपालले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा रेनेगेड्स २० ओभरमै १०६ रनमा समेटियो। अर्जुन नायरले सर्वाधिक २६ रन बनाए भने जे लेमिरले १८ र ह्यारी डिक्सनले १६ रन जोडे।

नेपालका सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिए। कुशल भुर्तेलले दुई तथा रुपेश सिंह, दीपेन्द्रसिंह ऐरी र शाहब आलमले समान एक–एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको थियो। कुशल मल्लले २२ बलमा एक चौका र एक छक्का सहित २९ रन बनाए। दीपेन्द्रसिंह ऐरीले २७, लोकेश बमले २४, भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२–१२ रनको योगदान दिए।
रेनेगेड्सका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई–दुई विकेट लिए। नेपालले यसअघि चार खेलमध्ये एकमा मात्र जित हासिल गरेको थियो। एनटी स्ट्राइकसँग ४२ रन, बङ्गलादेश ‘ए’सँग ३२ रन र मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो।
नेपालले आगामी भदौ ६ गते पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

