
बिर्तामोड, १३ भदौ । झापाको बिर्तामोडमा पहिलो पटक अन्तर डोजो कराँते च्याम्पियनसीप आयोजना हुने भएको छ। भिक्ट्री मार्सल आट्र्र्स एण्ड एकेडेमीको आयोजनामा प्रतियोगिता आगामी भदौ २० गते एकेडेमी परिसरमै सञ्चालन गरिनेछ।
प्रतियोगिताबारे जानकारी दिन आज (शुक्रवार) एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सूर्यबहादुर थापाले खेलकूदको विकास र युवा प्रतिभाको पहिचानलाई प्राथमिकता दिँदै प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगिताको उद्देश्य स्थानीय युवा खेलाडीलाई राष्ट्रिय स्तरका प्रतियोगिताका लागि तयार पार्नु, कराँते खेलको प्रवर्द्धन गर्नु, स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउनु र खेलकूदको महत्वबारे जानकारी दिनु रहेको छ।

प्रतियोगितामा १४ वर्षमुनिका ३५ केजीसम्मका समूहका ६४ जना खेलाडी सहभागी हुनेछन्। प्रतियोगिता डब्लुकेएफ र एनकेएफको नियमअनुसार सञ्चालन गरिनेछ। कुनै पनि क्लबबाट अधिकतम चार जना खेलाडीले मात्र सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ। आयोजक संस्थाका अनुसार यस प्रकारको प्रतियोगिता नेपालमै पहिलो पटक आयोजना हुन लागेको हो।
पुरस्कार विवरण
प्रथम स्थान: नगद रु ५१,०००
दोस्रो स्थान: नगद रु २५,०००
तेस्रो र चौथो स्थान: नगद रु ११,०००–११,००० साथै विजेताहरूलाई मेडल, शील्ड, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिता सम्पन्न गर्न अनुमानित रु ७ देखि ८ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। प्रतियोगिता बिर्तामोड–४ वडा कार्यालय, अभिभावक तथा स्थानीय खेलप्रेमीहरूको सहयोगमा सम्पन्न गरिनेछ।
पत्रकार सम्मेलनमा बिर्तामोड–४ का वडा सदस्य केशव श्रेष्ठ, एकेडेमीका सञ्चालक मुकेश गजमेर तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकले प्रतियोगितामा सहभागिता जनाउन इच्छुक क्लबहरूलाई दर्ता गर्न आह्वानसमेत गरेका छन्।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

