
काठमाण्डौ, २१ भदौ । नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल आज हुँदैछ । खेल बेलुका साढे पाँच बजेदेखि काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । नेपाल र बङ्गलादेशबीच दुई मैत्रीपूर्ण खेल हुन लागेको हो ।
अर्को खेल भदौ २४ गते मङ्गलवार हुनेछ । झन्डै दुई वर्षपछि घरेलु मैदान दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल हुन लागेको हो । रङ्गशाला खेल्न अयोग्य र असुरक्षित रहेको भन्दै फिफाका आधिकारिक प्रतियोगिता यो मैदानमा हुन सकेका छैनन् । लामो समयपछि घरेलु मैदानमा हुन लागेको खेललाई लिएर खेलाडीसँगै नेपाली फुटबलप्रेमीमा पनि उत्साह थपिएको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बङ्गलादेशसँग घरेलु मैदानमा हुन लागेको मैत्रीपूर्ण खेलमा जित निकाल्ने लक्ष्य रहेको बताएका छन् । कप्तान किरण चेम्जोङले पनि तयारी राम्रो भएको बताए । त्यस्तै बङ्गलादेशका प्रशिक्षक जेभियर क्याब्रेराले नेपाल आउनुअघि राम्रो तयारी भएको र खेल्न उत्साहित रहेको बताएका छन् ।
विजेता टोलीले ट्रफी र पदक प्राप्त गर्नेछ । एन्फाले खेलका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । घरेलु फुटबललाई माथि उठाउन सबै पक्षबाट प्रयास भइरहेको एन्फाका प्रवक्ता सुरेश शाहको प्रतिक्रिया छ । खेलको टिकट दर सामान्य पारापिटका लागि पाँच सय र भीआईपी पारापिटका लागि एक हजार रुपैयाँ तोकिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

