
झापा, २४ असोज । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा आज (शुक्रबार) नेपाल र जापान आमनेसामने हुँदैछन्। खेल ओमान क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ।
नेपाल र जापान दुवै टोली समूह चरणको एक खेल बाँकी रहँदै सुपर सिक्समा प्रवेश गरिसकेका छन्। समूह बीमा लगातार दोस्रो हार बेहोरेको कतार प्रतियोगिताबाट बाहिरिसकेको छ। कतारको हारले नेपाल र जापानलाई सुपर सिक्समा स्थान सुनिश्चित भएको हो।

नेपालले समूह चरणको पहिलो खेलमा कतारलाई ५८ रनले पराजित गरेको थियो भने जापानले कतारमाथि ५ विकेटको जित निकालेको थियो।
समूह बीमा नेपाल, जापान र कुवेत छन्। समूह एमा मलेसिया, कतार र युएई रहेका छन् भने समूह सीमा ओमान, पपुवा न्युगिनी र सामोआ छन्। प्रतियोगितामा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ।
हरेक समूहबाट शीर्ष दुई टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्सको शीर्ष तीन टोलीले आगामी टी–२० विश्वकपमा स्थान बनाउनेछन्।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

