
झापा, २८ असोज । बिराटनगर किंग्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा जारी ड्रिम टू प्ले टि-ट्वेन्टी क्रिकेट प्रतियोगिताको तेस्रो दिन सुनसरी र झापाले आ-आफ्ना खेलमा प्रभावशाली जीत हासिल गरेका छन्। मेची बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न दुई खेलहरूमा युवा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए।
सुनसरीको दबदबा प्रदर्शन
पहिलो खेलमा सुनसरीले उदयपुरलाई १४१ रनको विशाल अन्तरले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको सुनसरीले ४ विकेटको क्षतिमा १७४ रनको चुनौतीपूर्ण योगफल तयार पार्यो। जवाफमा उदयपुरको टोली ३३ रनमै समेटियो। सुनसरीका रबिन मण्डलले ४४ बलमा ८७ रन बनाउँदै सात छक्का र तीन चौका प्रहार गरे। उनको विस्फोटक प्रदर्शनका लागि उनलाई प्लेयर अफ द म्याच घोषित गरियो।

झापाको सन्तुलित खेल
दोस्रो खेलमा झापाले ईलामलाई ६४ रनले पराजित गर्यो। निर्धारित २० ओभरमा झापाले ८ विकेट गुमाएर १४४ रन बनायो। जवाफमा ईलामको टोली ८० रनमै समेटियो। झापाका सुमिन राईले ४ महत्त्वपूर्ण विकेट लिएर टिमलाई जित दिलाए र प्लेयर अफ द म्याच बने।
कोशी प्रदेशका पाँच जिल्लाहरू—झापा, मोरंग, सुनसरी, उदयपुर र ईलाम—का अण्डर-२३ टिमहरूबीच प्रतिस्पर्धा भइरहेको यस प्रतियोगिताले उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण प्लेटफर्म प्रदान गरिरहेको छ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू बिराटनगर किंग्सको डेभलपमेन्ट स्क्वाड मा छनोट हुनेछन्। उनीहरूले टिमसँग अभ्यास गर्ने, कौशल विकास गर्ने र व्यवसायिक क्रिकेट जीवनतर्फ अग्रसर हुने अवसर पाउनेछन्। त्यसैगरी, डेभलपमेन्ट स्क्वाडबाट एकजना खेलाडीले आसन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा बिराटनगर किंग्सको मुख्य स्क्वाडमा स्थान बनाउने विशेष अवसर प्राप्त गर्नेछन्।
भोलिको खेल तालिका असोज २८ गते हुने खेलहरूमा उदयपुर र ईलाम तथा झापा र मोरङबीच प्रतिस्पर्धा हुनेछ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

