
झापा, ३० असोज । आगामी वर्ष हुने आईसीसी टी–२० विश्वकपका लागि छनोट भइसकेको नेपालले सुपर सिक्स चरणमा घरेलु टोली ओमानलाई ३८ रनले पराजित गर्दै अपराजित यात्रालाई कायम राखेको छ। बुधबार ओमानको अल एमिरेट क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ओमानको अपराजित यात्रा अन्त्य गराएको हो।
नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १५१ रनको योगफल तयार पारेको थियो। ओपनर कुशल भुर्तेलले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ६९ रन बनाए। आशिफ शेखले २४, गुल्सन झाले १८, आदिल आलमले १६ रन बनाए भने अन्य ब्याट्सम्यानले सानो योगदान दिए।

ओमानका लागि नदिम खानले २० रन खर्चेर ४ विकेट लिए। सुफयान मेहमुद र जितेन रमानन्दीले समान २–२ विकेट झारे । जवाफमा १५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो। ओमानका विनायक शुक्लाले ३२, मोहम्मद नदिमले २५ रन बनाए। नेपालका गुल्सन झाले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान २–२ विकेट झारे। सन्दीप लामिछानेले १ विकेट लिए ।
जितसँगै नेपालले ४ खेलबाट ८ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ओमान ६ अंकसहित दोस्रो स्थानमा छ भने यूएई ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । यसअघि आजै भएको सुपर सिक्सका अन्य खेलमा कतारले जापानलाई ३ विकेटले तथा यूएईले सामोयालाई ७७ रनले पराजित गरेपछि नेपाल र ओमान दुई खेल बाँकी रहँदै विश्वकपका लागि छनोट भइसकेका छन् ।

