
केशवराज भण्डारी
झापा, १२ पुस । हाम्रो देश कृषि प्रधान भनेर बारम्बार दोहोरिरहने शब्द केवल कागजमा मात्र सीमित हुने जोखिम बढेको छ । किसानले उत्पादन गरेको उखु बिक्रीका लागि भनेर राज्यले न्यूनतम् मूल्य निर्धारण गरिसकेको अवस्थामा विगत २ वर्षदेखि झापामा उखु बिक्नै छाडेको छ ।
झापाको अर्जुनधारा नगरपालिका–५ मा विशेष गरेर बृहत रुपमा उखु खेती गरिँदै आएको छ । विगत २२ वर्षदेखि उखु खेती गर्दै आएका किसानहरुलाई २ वर्षयता उखु बिक्री गर्न समस्या भएपछि उखु किसान संकटमा परेका छन् । अर्जुनधारा–५ का रत्नबहादुर वन भन्छन्, ‘२०५६ सालदेखि उखु खेती गर्दै आएँ, २०७३ सालभन्दा अगाडि कम मूल्यमा भए पनि उखु बिक्री हुन्थ्यो, तर २ वर्षयता उखु दाउराको रुपमा परिणत भएको छ । जसले गर्दा हाम्रो रोजिरोटी नै हरायो ।’

उता, अर्जुनधारा–५ कै मिना भारती भन्छिन्, ‘उखु कम मूल्य मै भए पनि बेच्न पाए केही राहत हुने थियो, दाउरामा परिणत भएको उखु बारिबाट झिक्न समेत खर्चले नधान्ने अवस्थामा पुग्यौँ ।’
यसरी कृषकहरुलाई उखु नबिकेर समस्या परिरहेको सन्दर्भमा अर्जुनधारा–५ का सुवास राजवंशीले भने भारतबाट कालिगढ मगाएर उखुको सख्खर बनाउने उद्योग स्थापना गरेका छन् । अर्काको जमिन लिजमा लिएर उखु खेती गरिरहेका राजवंशी भन्छन्, ‘सुरुमा अर्काको मेसिन प्रयोग गरेर सख्खर बनाए त्यसबाट धेरै खर्च भएर खर्चले धान्न नसकेपछि ऋण गरेरै भए पनि आफैँ मेसिन खरीद गरेर उद्योग चलाउँदै छु ।’
प्रतिघण्टा १ लिटर डिजल प्रयोग हुने मेसिनबाट दिनभरिमा २ सय ६५ लिटर उखुको रस निकाल्न सकिने बताउदै राजवंशी भन्छन्, ‘यो बारीमा मेसिन राख्दा जग्गाधनीले गाली गरे । त्यति मात्र कहाँ होर सबैको हाँसोको पात्र बनेको छु ।’
दैनिक एक सय केजीबिना मिसावटको सख्खर बनाउँदै खुदो पनि बेच्ने गरेका राजवंशीले दैनिक ज्यालादारीमा ५ जनालाई रोजगारी समेत दिने गरेका छन् । उनी भन्छन्, ‘यो उद्योग स्थापना गरेर थाम्न सकेँ भने झापामा उखु बिक्री नहुने समस्या आउन दिन्न तर मिसावट भारतीय सख्खरका कारण हामी मारमा परेका छौँ, प्रतिकेजी एक सयका दरले सख्खर बेच्न पनि हामीलाई समस्या परेको छ ।’
उता, सुवास राजवंशीकी श्रीमती उर्मिला राजवंशी भन्छिन्, ‘जग्गा लिजमा लिएर खेती गरेको हाम्रो उखु बारीमै सुकाएर १० लाख ऋणमा फस्यौँ त्यसपछि यस वर्षबाट अझ ऋण गरेरै भए पनि सख्खर वनाउने मेसिन जोडेका हौँ । राजवंशी जोडिले सञ्चालन गरेको सख्खर उद्योगबाट दैनिक १ सय केजी सख्खर साथै खुदो र मुरै डल्ला उत्पादन हँुदै आएको छ । जसले उखु किसान राजवंशीको घाउमा सख्खरको मल्हम होला कि भन्ने आशा पलाएको छ ।
किसानको उखु नबिक्ने समस्या यो वर्ष मात्र होइन, २ वर्ष बितिसक्दा पनि राज्य उदासिन भएको छ । अर्जुनधारा–५ का वडा अध्यक्ष ध्यानबहादुर भारती भन्छन्, ‘उखु खरिद गर्ने व्यापारी आफैँले ठूलो क्षेत्रफलमा उखु खेती गरेपछि सानो ३‐४ बिगाहामा खेती गर्ने कृषकहरु मारमा परेका छन् ।’
आफू पनि उखु किसान नै भए पनि आफूले यस बारे केही गर्न नसकेको स्वीकार्दै उनी भन्छन्, ‘कृषकहरुले व्यवसाय परिवर्तन गर्नु प¥यो अब उखु छाडेर पाटा खेतीतर्फ किसानहरु परिवर्तन हुन जरुरी छ । त्यसो नगर्ने हो भने सुवास राजवंशीले सञ्चालन गरेको सख्खर उद्योगलाई राज्यले नभए नगरले त्यहाँबाट पनि नभए वडाबाट भए पनि बृहत बनाउँदै मिसावटरहित सख्खर उद्योगको स्थापना गर्न हामी तयार छौँ ।’ वडा अध्यक्षको यस प्रकृतिको प्रतिबद्धताले अब उखु किसानको समस्या केही हदसम्म हल हुने निश्चित छ । तर, सख्खरको बजार सुनिश्चित हुन पनि जरुरी छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


