
झापा, १३ मंसीर । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले शनिबार विवाह गर्दै देशको इतिहासमा नयाँ रेकर्ड कायम गरेका छन् । ६२ वर्षीय अल्बानिज अस्ट्रेलियाको १२४ वर्षे इतिहासमा प्रधानमन्त्री पदमै रहँदा विवाह गर्ने पहिलो नेता बनेका हुन् ।
प्रधानमन्त्री अल्बानिजले ४६ वर्षीया पार्टनर जोडी हेडेनसँग विवाह गरेका हुन् । हेडेन वित्तीय सेवामा कार्यरत छिन् । उनीहरूबीच सन् २०२० मा मेलबर्नमा एक व्यावसायिक डिनरमा भेट भएको थियो। अल्बानिजले फेब्रुअरी २०२४ मा हेडेनसँग इन्गेजमेन्ट गरेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नवदम्पतीले सोमबारदेखि शुक्रबारसम्म हनिमुन मनाउनेछन् । यसको सम्पूर्ण खर्च उनीहरूले आफ्नै खल्तीबाट बेहोर्ने भएकाले सरकारी सहयोग प्रयोग हुने छैन ।
यो अल्बानिजको दोस्रो विवाह हो । उनले सन् २०१९ मा पहिलो पत्नी कार्मेल टेब्बटसँग सम्बन्ध विच्छेद गरेका थिए । १९ वर्ष लामो वैवाहिक सम्बन्धबाट उनीहरूको एक छोरा नाथन छन् । हेडेनको पनि यो दोस्रो विवाह हो, तर उनको पहिलो सम्बन्धबारे विवरण सार्वजनिक छैन ।
लेबर पार्टीका नेता अल्बानिजलाई ‘अल्बो’ उपनामले चिनिन्छ । उनको जन्म १९६३ मार्च २ मा अस्ट्रेलियाको क्याम्परडाउन सहरमा भएको हो। उनी अविवाहित आमाका छोरा हुन्। बाल्यकालमा उनले बुबालाई देख्न पाएनन् ।

