
जापान, १५ मंसीर । जापानमा सन् २०२४ मा कामको सिलसिलामा घाइते हुने र ज्यान गुमाउने विदेशी कामदारको सङ्ख्या ६ हजार नाघेको छ ।
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार ६ हजार २४४ जना विदेशी कामदार गम्भीर घाइते भएका थिए । घाइतेमध्ये ३९ जनाको मृत्यु भएको थियो ।

वृद्ध जनसङ्ख्याका कारण श्रम अभाव पूर्तिका लागि जापान विदेशी कामदारमा निर्भर हुँदै गएको बेला यो तथ्याङ्क सार्वजनिक भएको हो । अपर्याप्त सुरक्षा तालिम र भाषिक सञ्चारको कमीलाई यसको मुख्य कारण मानिएको छ । जसले विशेषगरी प्राविधिक प्रशिक्षार्थी तथा सीपयुक्त कामदारहरू जोखिममा परेको देखाउँछ ।
दुर्घटनामा पर्नेमध्ये भियतनामी १ हजार ५९४, फिलिपिनो ८ सय ७८, इन्डोनेसियाली ७ सय ५७ र ब्राजिलियन ६ सय ७३ कामदार छन् । श्रम मन्त्रालयले सन् २०२७ सम्म दुर्घटना दरलाई राष्ट्रिय औसतभन्दा तल झार्ने र आधाभन्दा बढी कार्यस्थलमा अनुवादित स्रोतसहित तालिम उपलब्ध गराउने लक्ष्य समेत लिएको छ ।

