
सन्तोष शर्मा
झापा, १६ मंसीर । पूर्वी नाका काँकरभिट्टाबाट चालू आर्थिक वर्षको चार महिनाको अवधिमा मसुरो दाल निर्यातमा व्यापक वृद्धि भएको छ । ४८१ प्रतिशत मुसुरो दाल निर्यात वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
रू नौ करोड १२ लाख ८७ हजार रुपैयाँ बराबरको मुसुरो दाल यो नाकबाट निर्यात भएको छ । अघिल्लो आवको सोही अवधिमा रू एक करोड ५७ लाख १३ हजार बराबरको मुसुरो दाल निर्यात भएको थियो ।
यता, काँकरभिट्टा नाकाबाट रू १६ अर्ब बढीको मालवस्तु आयात भएको छ । चालू आव २०८२÷०८३ को साउन महिनादेखि कात्तिम मसान्तसम्म रू १६ अर्ब दुई करोड पाँच लाख तीन हजार बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । गत आवको सोही अवधिको तुलनमा आयातमा १२.१२ प्रतिशत वृद्धि भएको छ ।
निर्यात भने ४.१२ प्रतिशतले घटेको छ । चालू आवको चार महिनाको अवधिमा रू सात अर्ब ९६ करोड सात लाख ३३ हजार बराबरको मालवस्तु निर्यात भएको कार्यालये जनाएको छ । गत आवमा सोही अवधिमा रू आठ अर्ब ३० करोड २७ लाख ८७ हजार बराबरको सामान निर्यात भएको थियो ।
चार महिनाको अवधिमा कार्यालयले आयात र निर्यातबाट रू पाँच अर्ब ४६ करोड एक लाख ९८ हजार राजश्व संकलन गरेको छ । आयातबाट रू पाँच अर्ब ३३ करोड ६७ लाख ३८ हजार र निर्यातबाट रू १२ करोड ३४ लाख ६० हजार राजश्व संकलन गरेको हो । राजश्व असुलीमा भने १५.६६ प्रतिशत अर्थात ७३ करोड ९४ लाख ७५ हजार वृद्धि भएको छ ।
काँकरभिट्टा नाकाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये अलैंची, भेनियर सिट, कुकुर वा बिरालोको खाना, अदुवा÷सुठो, काउली, बन्दाकोभी र ब्रोकाउली र मुसुरो दालको निर्यात वृद्धि भएको छ भने चिया, प्लाइउड, अम्रिसो र फलामे पाताको निर्यातमा कमी आएको छ ।
अलैंची निर्यात दोब्बर बढीले वृद्धि भएको छ । रू तीन अर्ब ९७ करोड ४३ लाख ७३ हजारको अलैंची निर्यात भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनमा १०९.२ प्रतिशत अर्थात् रू दुई अर्ब सात करोड ४१ लाख ३२ लाखले बढी हो ।
चिया निर्यातमा भने झण्डै एक तिहाइ गिरावट आएको छ । चालु आर्थिक वर्षको चार महिनामा रू एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको निर्यात भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको ३७ प्रतिशतले कमी हो ।
प्लाइउड निर्यातमा ५२.७ प्रतिशतले कमी आएको छ । गत आवको कात्तिक मसान्तसम्ममा रू एक अर्ब २५ करोड ७२ लाख ५९ हजार बराबरको प्लाइउड निर्यात भएकोमा चालू आवको सोही अवधिमा रू ५९ करोड ५० लाख १८ हजारको मात्र निर्यात भएको छ । जुन अघिल्लो आवको तुलनामा रू ६६ करोड २२ लाख ४१ हजारले कम हो ।
यता, भेनियर सिटको निर्यात १३५.८ प्रतिशत वृद्धि भएको छ । गत आवमा रू १६ करोड ४५ लाख १२ हजारको निर्यात भएकोमा चालू आवमा रू ३८ करोड ६२ लाख ६८ हजारको निर्यात भएको छ । जुत अघिल्लो आवको तुलनामा रू २२ करोड १७ लाख ६८ हजारले बढी हो ।
कुकुर र बिरालोको खाना निर्यातमा ३३ प्रतिशत वृद्धि भएको छ । चालू आवको चार महिनामा रू ३७ करोड ९९ लाख १२ हजारको कुकुर र बिरालोको खाना निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
अम्रिसो निर्यातमा २३.९ प्रतिशतले गिरावट आएको छ । रू २६ करोड २५ लाख ६३ हजार बराबरको अम्रिसो निर्यात भएको छ । अदुवा÷सुठो निर्यात ३.२ प्रतिशतले वृद्धि भएको छ । रू २४ करोड २४ लाख १६ हजार बराबरको अदुवा÷ सुठो निर्यात भएको छ ।
काउली, बन्दाकोभी र ब्रोकाउलीको निर्यात भने ३६.१ प्रतिशतले वृद्धि भएको छ । चालू आवमा रू ११ करोड ३१ लाख ९१ हजार बराबरको काउली, बन्दाकोभी र ब्रोकाउलीको निर्यात भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
उता, मसुरो दाल निर्यातमा व्यापक वृद्धि भएको छ । ४८१ प्रतिशत मुसुरो दाल निर्यात वृद्धि भएको कार्यालयले जनाएको छ । रू नौ करोड १२ लाख ८७ हजार रुपैयाँ बराबरको मुसुरो दाल यो नाकबाट निर्यात भएको छ । अघिल्लो आवको सोही अवधिमा रू एक करोड ५७ लाख १३ हजार बराबरको मुसुरो दाल निर्यात भएको थियो ।
चालू आवमा रू ३ करोड ७८ लाख ८३ हजार रुपैयाँ बराबरको मात्र फलामे पाता निर्यात भएको कार्यालयले जनाएको छ । फलामे पाता निर्यात ९७.३ प्रतिशतले गिरावट आएको छ ।


