
हिल्दबारी, १९ मंसिर । स्व. जगत बहादुर तथा नरमाया वन स्मृति प्रतिष्ठानद्वारा आयोजित दोस्रो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि हल्दिबारी वडा नं. ५ ले जितेको छ ।
हल्दिबारी माध्यमिक विद्यालयको खेल मैदानमा मंसिर १९ गते भएको फाइनल खेलमा वडा नं. ३ लाई ४–१ को गोल अन्तरले पराजित गर्दै हल्दिबारी वडा नं. ५ ले उपाधि रक्षा गरेको हो ।

गत मंसिर १७ गतेदेखि शुरु भएको प्रतियोगिताको समापनको अवसरमा हल्दिबारी गाउँपालिकाका जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीबीचको मैत्रीपूर्ण खेलमा जनप्रतिनिधिको टिमले १–० को जितेको थियो ।

प्रतियोगिता उद्घाटन हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनको प्रमुख आतिथ्य एवम् समापन कार्यक्रम प्रदेश सभा सदस्य छवि चुडालको प्रमुख आतिथ्यमा भएको थियो ।
प्रतिष्ठानका संस्थापक एवम् हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले प्रतियोगिताले युवालाई अनुशासन, समर्पण र स्वस्थ प्रतिस्पर्धातर्फ प्रेरित गर्ने बताउनुभयो ।
जितसँगै वडा नं. ५ ले २५ हजार रुपैयाँ, उपविजेता वडा नं. ३ ले १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र हात पारेका छन् । प्रतियोगितामा बेष्ट डिफेन्डर अमृत मेचे, बेष्ट मिडफिल्डर हिमाल लिम्बू, हाइ स्कोरर संजोग भुजेल, बेष्ट फरवर्ड विवेक लिम्बू, बेष्ट कोच समिर फागो, प्लेयर अफ द टुर्नामेन्ट हिमाल गुरुङ, गोलकिपर अफ द टुर्नामेन्ट समीर परियार घोषित भएका छन् ।
प्रतिष्ठानले शिक्षा–समाजसेवी नरेन्द्र कार्की र बाल गायिका निर्देशिका अछामी लगायतलाई सम्मान गरेको छ । साथै, वडा नं. ५ ले प्रतिष्ठानका संस्थापक महेन्द्र वनलाई पनि सम्मान अर्पण गरेको छ ।
प्रतिष्ठानका संरक्षक अधिवक्ता डम्बर वनको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक टंकबहादुर पाख्रिनले स्वागत तथा शिक्षक तुलसी कोइरालाको सहजीकरण गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

