
झापा, १८ पुस । झापाको बिर्तामोड नगरपालिका–३ स्थित दुर्गा मन्दिर छेउबाट कीर्ते नागरिकता बनाउने एक जनालाई आज पक्राउ गरिएको छ ।
झापा शिवसताक्षी नगरपालिका–११ का २३ वर्षीय पप्पु ठाकुरलाई पक्राउ गरिएको झापा सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जानकारी दिनुभयो । उनको साथबाट एउटा कीर्ते नागरिकता समेत बरामद भएको छ ।
“कीर्ते नागरिकता बनाउने गरेको भन्ने सूचना पाएपछि एक जना घुमुवा छोडेका थियौं”, उहाँले भन्नुभयो, “अनुसन्धान गर्दै जाँदा आज पक्राउ गरेका हौं ।” नक्कली नागरिकता बनाउने गिरोह रहेको बताउनुहुँदै सहायक प्रजिअ प्रसाईंले ठाकुर मान्छेलाई भेटेर ‘बार्गेनिङ’ गर्ने मध्यस्तकर्ता (एजेन्ट) व्यक्ति रहेको बताउनुभयो ।
प्रजिअ प्रसाईंको नेतृत्वमा खटिएको सादा पोसाकका प्रहरी र प्रहरी चौकी बिर्ता बजारबाट खटिएको प्रहरी टोलीले ठाकुरलाई पक्राउ गरेको हो । ठाकुरलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याएर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।


