
बिर्तामोड, २० पुस । ‘एकका लागि एक अभियान’ले विपद्मा सहयोग गर्ने दाताहरुmलाई सम्मान गरेको छ । गत असोज १८ र १९ गते अविरल वर्षापछि झापा र इलाममा बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको थियो । उक्त विपद्को समयमा एकका लागि एक अभियान अन्तरगत पीडितलाई राहत उपलब्ध गराउन सहयोग गर्ने विभिन्न ४४ वटा संघ–संस्था एवम् दाताहरुलाई कदरपत्रद्वारा सम्मान गरिएको हो ।
अभियानले आज बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी उनहिरुलाई सम्मान गरेको हो । कार्यक्रममा झापाका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीलाई विशेष सम्मान गरियो । उहाँले उक्त विपद्का बेलामा पुर्याउनुभएको योगदानको उच्च सम्मान गर्दै अभियानले विशेष सम्मान गरेको हो । हाल काभ्रेपलाञ्चोक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत प्रजिअ गोपालकुमार अधिकारीलाई झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, अभियानका संयोजक महेन्द्रकुमार गिरीलगायतले संयुक्त रुपमा सम्मान–पत्र प्रदान गर्नुभएको थियो ।
त्यतिबेला बाढी पहिरोमा डुबानबाट ५ हजार ५ सय परिवारका २५ हजारभन्दा बढी मानिस विस्थापित भएका थिए । अभियानको अगुवाई तथा समन्वयमा २ हजार परिवारलाई प्रति परिवार तीन हजारदेखि तीन हजार ५ सय रुपैयाँ बरावरको खाद्य तथा गैर खाद्य सामग्रीको प्याकेट तयार गरी वितरण गरिएको थियो ।
सात सय परिवारका लागि विभिन्न दाताहरुको सहयोगमा सरसफाई सामग्रीसहित पाँच सय प्याकेट हाइजिन किट, तीन सय थान सेन्टर किट र २ सय थान व्लाङ्केट वितरण गरिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताउनुभयो । उहाँका अनुसार प्रभावितहरुलाई एकद्वार प्रणालीबाट एकै प्रकृतिका सामग्री अभियानले जिल्ला विपद् व्यवस्थापन समितिलाई सहयोग गरेको थियो ।
अभियानले सामग्री जुटाएर तयार गर्दै जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्रण गर्ने, समितिले स्थानीय सरकारसँगको समन्वयमा राहत वितरण व्यवस्थित रुपमा सम्पन्न गरेको थियो ।
कार्यक्रममा अभियानका संयोजक गिरीले अभियान स्थापनादेखि हालसम्म अभियानमा संकलित रकमको आयव्यय सार्वजनिक गर्दै बाढी र पहिरोमा अभियानले संकलन गरेको आर्थिक तथा जिन्सी सामग्रीको विवरण पनि प्रस्तुत गर्नुभएको थियो । बाढी र पहिरोमा एकका लागि एक अभियानले ६ लाख रुपैयाँ दिएर शुरुवात गरिएको थियो । अभियान अन्तरगत नगद २५ लाख ८५ हजार ९५० रुपैयाँ र विभिन्न प्रकारका २ हजार ५ सय थान जिन्सी सामग्री उपलब्ध भएको थियो । त्यो सबै पीडितलाई वितरण गरिएको जनाइएको छ ।
अभियानका संयोजक गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अभियानका सदस्य लीला चिमरियाले गर्नुभएको थियो । सहजीकरण अभियान सदस्य एकराज गिरीले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी झापाका गेलाल, सम्मानित व्यक्तित्वका तर्फबाट झापा तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
२०७७ साल बैशाख १९ गते स्थापना भएको अभियानले कोभिड महामारी, कोभिड दोस्रो लहरको अभियानमा पीडितलाई उल्लेख्य सहयोग गरेको थियो । कोभिडका समयमा अभियानले पहिलो चरणमा विपन्न परिवारलाई राहत वितरण तथा खाना खुवाउने कार्यक्रम, क्वारेन्टाइनको व्यवस्थापन, प्लाज्मा बैंक स्थापनामा सहयोग, स्वास्थ्य सामग्री सहयोग, पीसीआर परीक्षण प्रयोगशाला स्थापना गरेको थियो ।
त्यस्तै, कोभिडको दोस्रो चरणमा अक्सिजन बैंकको स्थापना, बाढी पीडितलाई स्वास्थ्य सामग्री सहयोग, अक्षयकोष स्थापना, प्रहरी कार्यालय पुनः स्थापनामा १० लाख आर्थिक सहयोग, बाढी पहिरो पीडित दुई हजार परिवारलाई राहत लगायतका कार्य गरेको थियो । अभियानलाई अझ मजबुत बनाउने उद्देश्यले पाँच करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने उद्देश्य रहेको बताउँदै संयोजक गिरीले हाल अभियानको कोषमा एक करोड रहेको जानकारी दिनुभयो ।


