
बिर्तामोड, २३ पुस । झापाको बिर्तामोडबाट लागुऔषध र नगद सहित एक जनालाई पक्राउ गरिएको छ ।
मंगलबार दिउँसो बिर्तामोड–१ सूर्यनगर टोल काली मन्दिरका ४० वर्षीय अजय राजवंशीलाई पक्राउ गरिएको हो । उनको घर कोठामा लागुओषध कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली र लागुऔषध ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले चेक जाँच गरेको थियो ।
चेकजाँच गर्दा उनको साथबाट र घर कोठा भित्र लुकाई छिपाई राखेको लागुौषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित १३१ ग्राम ३६० मिलिग्राम र प्लास्टिक बाहेक १२३ ग्राम १८० मिलिग्राम, नेपाली नोट २ लाख ६७ हजार, भारतीय नोट २९ हजार पाँच सय, डिजिटल तराजु १ थान, कैँची १ थान, चक्कु १ थान, मोबाइल २ थान बरामद गरिएको छ ।
ती सामानसहित राजवंशीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


