
बिर्तामोड, २५ पुस । झापाको बिर्तामोडस्थित सहारा नेपालको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष भरतकुमार गिरीको अध्यक्षता एवम् अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा बिर्तामोड–२ चारपानेमा साधारण सभा सम्पन्न भएको हो । सहारा नेपालले नेपालको ४३ जिल्लामा सेवा पुर्याउँदै आएको अध्यक्ष गिरीले बताउनुभयो । जसबाट चार लाख ९२ हजार जनसंख्या लाभान्वित भएका छन् ।
अध्यक्ष गिरीद्वारा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको कार्यालय आठ वटा, सहकारी तथा सिविओ ३८ वटा, महिला तथा आदिवासी समूह १११ वटा, बाँसमा आधारिक उद्योग एउटा, जल उपभोक्ता संस्था अर्थात जल तथा आवास एक सय ८ वटा र सञ्जालमा आवद्धता ५ वटाबाट सेवा प्रदान गर्दै आएको छ ।

संस्थाले बाढी पिडीतका लागि राहत वितरण, खानेपानी तथा सरसफाई आयोजना निर्माण, सामुदायिक झोलेङ्गे पुल कार्यक्रम, सुरक्षित आवास निर्माण कार्यक्रम अन्तरगत झापा र मोरङमा १७५ घर निर्माण सम्पन्न, ११ जिल्लामा २ लाख ४५ हजार ३२५ वटा फलफूलको विरुवा वितरण, वाढी प्रभावित क्षेत्रमा बाँसको विरुवा रोपण, किसानहरुलाई असल कृषि अभ्यास तालिम तथा टनेल सहयोग, उदयपुरका अगुवा कृषकलाई कृषि सामाग्री वितरण, बालबालिकाहरुमा पोषण परिक्षण कार्याक्रम सञ्चालनलगायतका थुप्रै कार्यक्रमहरु गर्दै आएको संस्थाका सचिव महेन्द्रकुमार गिरीले बताउनुभयो ।
कार्यक्रममा संस्थाका सचिव महेन्द्रकुमार गिरीले सहारा नेपालको आगामी कार्ययोजना तथा भावी कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले सहारा नेपाल साच्चै सबैको सहारा भएको बताउनुभयो । कार्यक्रममा सहारा नेपाल साकोसका अध्यक्ष हरिबहादुर राजवंशीले पनि शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा संस्थाको उत्कृष्ट कर्मचारीका रुपमा सुरक्षित आवास परियोजनाका संयोजक भीमप्रसाद भेटवाललाई नगदसहित सम्मान गरिएको थियो ।
त्यस्तै, श्री दुर्गा मावि गरामनीलाई टेलिभिजन र दुर्गेश्वरी कृषि सहकारीलाई एक थान कम्प्युटरसमेत सहयोग गरिएको छ । स्वागत संस्थाका उपाध्यक्ष सोमनाथ तिम्सिनाले गरेको कार्यक्रमको सञ्चालन संस्थाका कार्यक्रम व्यवस्थापक मात्रिका सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

