
कनकाई, २५ पुस । झापाको कनकाई नगरपालिकास्थित कनकाई पुलमा बम राखेर आतंक फैलाउने एक जना पक्राउ परेका छन् । झापाको कनकाई –४ स्थित कनकाई पुलनजिक गत पुष १९ गते बिहान बम राखेर आतङ्क फैलाउने कनकाई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल (सञ्जय) पक्राउ परेका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो साँझ पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्गमा पर्ने कनकाई पुलनजिक सडकको उत्तरी भागमा फेला परेको शङ्कास्पद वस्तु अरिदमन गणस्थित नेपाली सेनाले निष्क्रिय पारेको थियो ।
प्रेसर कुकर बमसँगै सनातन सुरक्षा सेना नेपालको पर्चा समेत भेटिएको थियो । खरेल यसअघि पनि पटक पटक पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन् । २०८१ साल पुषमा इटहरी उपमहानगरपालिका अगाडि शङ्कास्पद प्रेसर कुकर फेला परेपछि नेपाली सेनाको काली शक्ति गणको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो ।
त्यस समयमा पनि खरेल पक्राउ परेका थिए । पक्राउ परेका खरेलको नेतृत्वमा २०७८ साल चैतमा इटहरी–२ नवजागृति टोलमा कोठामा बम विस्फोट हुँदा रबिन थापा र शेरजंग गुरुङ घाइते भएका थिए। खरेलले पछिल्लो केही वर्षदेखि झापाको बिर्तामोड र दमकमा पनि बम आतङ्क मच्चाउँदै आएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
२०७८ सालअघि दुई वर्ष पाँच महिना कैद भुक्तान गरेर छुटेपछि उनी पुनः आतङ्ककारी गतिविधिमा संलग्न भएपछि २०८१ साल चैत्रमा पक्राउ परेका थिए । उनी जेनजी आन्दोलनको क्रममा सुनसरीको झुम्का कारागारबाट कैद भुक्तान गरिरहेको अवस्थामा फरार भएका थिए ।

